काठमाडौँ, १२ कार्तिक । महाराजगञ्जबाट पक्राउ परेका २५ जना ‘भीआईपी’ जुवाडेमध्ये ६ जनाले सर्वोच्च अदालत पुगेका छन् ।
आइतबार बिहान काठमाडौँको महाराजगञ्जबाट पक्राउ परेका २५ जना ‘भीआईपी’ जुवाडेमध्ये ६ जनाले आफन्तले उनीहरुलाई गैरकानूनी रुपमा प्रहरीले थुनेको भन्दै आइतबार दिउँसो नै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
तिहारको विवादका समयमा बन्दी प्रत्यक्षीकरण लगायत रिटको सुनुवाईका लागि सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा एकल इजलाश तोकिएको छ ।
प्रहरीको जुवा अपरेशनका क्रममा पक्राउ परेकामध्ये ६ जनाका आफन्तले आइतबार दिउँसो बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेको सर्वोच्च अदालतका सूचना अधिकारीले जानकारी दिए । बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नेमा बलराम सापकोटा बले, पवनकुमार गुप्ता, पवित्रकुमार कार्की, श्रवणकुमार गोयल, विक्रम गौतम र मुक्ति लामा छन् ।
सर्वोच्च अदालतका न्यायाधीश भण्डारीको इजलाशले आइतबार ६ जनालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।
अदालतको आदेशानुसार सोमबार दिउँसो उनीहरुलाई अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ । प्रहरीले आइतबार बिहान महाराजगञ्जको पिपलमार्गबाट २५ जना जुवाडेलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरुको साथबाट २ करोड ६७ लाख रुपैयाँ नगद, ३ लाख रुपैयाँ बराबरको बैंक चेक, कौडा र चेक बूक बरामद गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्