भक्तपुर, १३ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आगामी वर्षदेखी शंखधर साख्वाःको जिम्मेवारी सरकारले बहन गर्ने उद्घोष गर्नुभएको छ ।
नेपाल संवत् ११४० को अवसरमा मध्यपुरथिमिमा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले आयोजना गरेको शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले हरेक वर्ष नेपाल सम्वत्का दिन सरकारको क्यालेण्डरमा राखेर सरकार प्रमुखबाट हरेक वर्ष शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण गर्ने घोषणा गर्नुभयो ।
उहाँले नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी वर्षदेखि यो कार्यक्रम प्रतिष्ठानसँग संयुक्तरुपमा आयोजना गर्ने र यसको जिम्मेवारी सरकारले बहन गर्ने घोषणा गर्नुभयो । उहाँले नेपाल प्रसङ्गलाई कार्यान्वयनमा ल्याउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो ।
नेपाल कमयुनिष्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानको कार्यालय निर्माणको लागि रु ५० लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
प्रतिष्ठानले विशेष गरी वर्तमान समयमा शंखधर संस्कृति पार्क, कार्यालय निर्माण, शंखधरको शालिकलाई देशभर फैलाउने तीन वटा संकल्प लिएको जानकारी गराउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले उक्त तीन कार्यको लागि ९ करोडको मास्टर प्लान बनाएको जसको लागि नगरपालिकाले एक करोड बजेट विनियोजन गरेको जानकारी गराउनुभयो ।
दक्षिण वाराहीदेखी नीलवाराहीसम्मको क्षेत्र नेवारी कला र संस्कृतिको विशेष क्षेत्र भएको जानकारी गराउँदै उहाँले भक्तपुरको आर्थिक विकास र समृद्धिको लागि जातीय संगाहलाय र इको पार्क बनाउनु वर्तमान समयको अनिवार्य आवश्यकता भएको बताउँदै धार्मिक, सांस्कृतिक तथा पौराणीक सम्पदा वस्तीको संरक्षणको निम्ती विशेष योजना तथा बजेटको व्यवस्थापन सरकारले गरेको जानकारी गराउनुभयो ।
प्रदेश नं। ३ का सामाजिक विकासमन्त्री शालिकराम जमकट्टेलले साख्वाःले गरेको परिवर्तनको सुरुवातलाई समावेशी र समानुपातिक ढङ्गबाट राज्य व्यवस्था अगाडि बढिरहेको बताउनुभयो ।
राप्रपाका नेता एवम् पूर्वसञ्चारमन्त्री टंक ढकाल, नेपाली काँग्रेसका नेता एवम् पूर्वरक्षामन्त्री भीमसेन दास प्रधान, प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठलगायतले नेपाल प्रसङ्गलाई सबै जातजाति, समुदायको प्रसङ्ग बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा काहीनाथ तमोट र सिन्हःस्वा खललाई सम्मान गर्नुका साथै प्रतिष्ठानले प्रकाशित गरेको शंखधर स्मारिकाको विमोचन पनि गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्