दाङ, १३ कार्तिक । नेपालकै दोस्रो ठूलो पुल निर्माणकार्य निर्धारित समय अगावै पूरा भएको छ ।
दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुल निर्माणको काम पूरा भएको हो । ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइ रहेको उक्त पुल करीब रु एक अर्ब लगानीमा निर्माण पूरा भएको हो ।
अनक निर्माण सेवाले आर्थिक वर्ष २०७२र७३ देखि निर्माणकार्य शुरु गरेको हो । आ.व २०७६/७७ भित्र पुल निर्माण सक्ने सम्झौता भए पनि त्यसअगावै निर्माणको काम पूरा भएको छ ।
अहिले पुल निर्माण पूरा भएको र त्यहाँ पुग्ने सडक निर्माणको काम भइरहेको छ । उक्त पुलको आउँदो माघ महीनामा उद्घाटन हुनेसमेत बताइएको छ । उक्त पुल निर्माण भएसँगै देउखुरीको राप्ती नदी वारपार गर्न सहज भएको छ । अहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्तीपारिको क्षेत्रबाट वारि आउँदा कालाकाटे–भालुवाङ हुँदै करीब डेढ घण्टाको सवारी यात्रा गर्नुपर्ने अवस्था थियो, तर पुल निर्माण भएसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको छ ।










प्रतिक्रिया दिनुहोस्