काठमाडौँ, १४ कार्तिक । नेपाली काङ्ग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टुङ्गो लगाउन बिहीबार बिहान पदाधिकारी बैठक बोलाएको छ ।
जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित निकायले सिफारिस गरी पठाएका नामावलीमाथि छलफल गरी नाम टुङ्गो लगाउन पदाधिकारी तहमा छलफल गर्न लागेको जनाएको छ ।
बैठकमा समसायिक राजनीति, उपनिर्वाचनमा पार्टीको तयारी, पार्टीका केन्द्रीय विभाग गठनलगायत विषयमा समेत छलफल हुनेछ । पदाधिकारी बैठकमा सहमति भएका विषयमा निर्णय गर्न काङ्ग्रेसले यही कात्तिक १५ गते दिउँसो १ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।
मङ्सिर १४ गते हुने उपनिर्वाचनबाट ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ ।










प्रतिक्रिया दिनुहोस्