Banner News

प्रधानमन्त्री ओलीको आज दोस्रो पटक मृगौलाको डायलाइसिस गरिँदै



काठमाडौँ, १४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक आज मृगौलाको डायलाइसिस गरिँदैछ ।

बुधबार प्रधानमन्त्री ओलीको पहिलो डायलाइसिस गरिएको अस्पताल स्रोतले जनाकारी दिएको छ । डायलाइसिस सकेर प्रधानमन्त्रीलाई केहीबेर आइसियुमा राखिएको थियो । साँझ भने उहाँलाई क्याबिनमा सारिएको थियो । प्रधानमन्त्रीको रगतमा क्रेटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेपछि डायलासिस गरिएको हो । पिसाब राम्ररी नभएर शरीरमा पानीको मात्रा धेरै भएको चिकित्सकले बताएका छन् ।

‘एन्टीबडी’ भनेको शरीरलाई बाहिरी तत्त्वबाट जोगाउन उत्पादन गरिने एक प्रकारको लडाकु कोष हो । चिकित्सकका अनुसार १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीको शरीरमा एन्टीबडी घटाउन प्लाज्माफेरेसिस गरिनु सामान्य प्रक्रिया नै थियो । प्लाज्माफेरेसिस पद्धतिमा शरीरबाट रगतलाई नलीको माध्यमबाट ‘एफेरेसिस’ मेसिनमा पठाइन्छ । मेसिनले धेरै मात्रामा रहेको एन्टीबडी निकालेर रगत पुनः शरीरमै पठाउँछ । एन्टीबडी फेरि बढ्न नदिन केही औषधि दिइन्छ । त्यो औषधिले राम्रो काम गरे तत्काललाई मिर्गौला प्रत्यारोपण गर्नुपर्दैन । तर, एन्टीबडी उत्पादन नियन्त्रण नभए प्रत्यारोपणको विकल्प हुँदैन । उक्त औषधिले कहिलेकाहीँ सकारात्मक असर देखाउँछ भने कहिले थप जटिलता पनि निम्त्याउन सक्ने चिकित्सकको भनाइ छ ।

चिकित्सकहरुले मिर्गौला प्रत्यारोपण गरिएका बिरामीमा ११–१२ वर्षपछि यस्तो समस्या देखिनु सामान्य नै रहेको बताएका छन । प्रधानमन्त्री ओलीलाई पहिलो पटक सिंगापुर लगिनुअघि साउन १० गते शुक्रबार सैनिक अस्पताल छाउनीमा नियमित ल्याब परीक्षणसहित यूएसजी ग्याइडेड ‘रेलन बायोप्सी’ गरिएको थियो । त्यही रिपोर्टका आधारमा उहाँलाई सिंगापुर लैजाने निर्णय भएको थियो । प्रधानमन्त्री ओलीको १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको हो ।

डायलाइसिस के हो ?

मिर्गौलाले रगत सफा गर्न नसक्ने भएपछि मेसिनको सहायतामा रगतमा भएका फोहोर तत्त्व, शरीरलाई चाहिनेभन्दा बढी मात्रामा रहेको नुन र पानी बाहिर फालेर रक्तचाप नियन्त्रणमा राख्न गरिने प्रक्रिया नै डायलाइसिस हो । यो दुई प्रकारको हुन्छ ।

पहिलो, हेमोडायलाइसिस । यसमा रगतलाई नलीको माध्यमबाट कृत्रिम मिर्गौला मेसिनमा पठाइन्छ र शुद्धीकरण गरेर पुनः नलीका माध्यमबाट शरीरमै फिर्ता गरिन्छ । दोस्रो, पेरिटोनियल डायलाइसिस । यसमा आफ्नै पेटको भित्री सतहको सहायतामा रगतलाई डायलाइसेट नामक तरल पदार्थको माध्यमबाट शुद्ध पारिन्छ ।

सामान्यतया मिर्गौलाको कार्यक्षमता १५ प्रतिशतभन्दा कम भएपछि डायलाइसिस गरिन्छ । मिर्गौलाको कार्यक्षमतामा ह्रास आउँदा बिरामीलाई अत्यधिक रिंगटा लाग्ने, बान्ता हुने, सुन्निने र आलस्य महसुस हुन्छ । कहिलेकाहीं पूर्वलक्षण नदेखिन पनि सक्छ ।

सामान्यतया मिर्गौलाले पूर्ण रूपमा काम गर्न छोडे हप्ताको ३ पटकसम्म अस्पतालमै लगेर डायलाइसिस गरिन्छ । एकपटक डायलाइसिस गर्न करिब ४ घण्टा लाग्छ ।