काठमाडौँ, १७ कार्तिक । गृहमन्त्री रामबहादुर थापा बादलले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनलाई भयरहित तथा शान्तिपूर्ण तवरले सम्पन्न गर्न विप्लव समुहका गतिविधिलाई निस्तेज पार्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
गृह मन्त्रालयले मंसिर १४ मा हुने उपनिर्वाचनको सुरक्षा योजनाबारे छलफलमा गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकायका प्रमुखलाई मन्त्रालयमा डाकेर सुरक्षा योजनाबारे छलफल गर्दै चुनाव विथोल्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भूमिका खेल्न सक्नेतर्फ सचेत हुन सुरक्षा निकायलाई निर्देशन दिनुभएको हो ।
छलफलमा सहभागी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा कार्ययोजनाअनुसार प्रहरी परिचालन गरिने बिफ्रिङ गृहमन्त्री थापालाई गर्नुभएको थियो । चारवटै सुरक्षा निकाय सम्मिलित उपनिर्वाचन सुरक्षा कार्ययोजना बनिसकेको छ । उपनिर्वाचनमा फेरि पनि विप्लवले विथोल्न सक्ने सबै प्रकारका कार्यशैली निस्तेज पार्ने गरी सुरक्षा योजना बनाउन थापाले निर्देशन दिनुभयो ।
विगतका निर्वाचनमा सम्बन्धित जिल्लाबाट पक्राउ परेर छुटेका विप्लवका कार्यकर्तामाथि निगरानी बढाउने र आवश्यक परे पक्राउ गर्ने रणनीति प्रहरीले बनाएको छ ।
छलफलमा गृह सचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक खनालसँगै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी र नेपाली सेनाका रथी गौरव तण्डुललगायतको सहभागिता थियो ।
उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १, गाउँपालिका तथा नगरवडाध्यक्ष ४१, प्रदेशसभा सदस्य ३ र प्रतिनिधिसभा सदस्य १ गरी ५० पदका लागि उपनिर्वाचन हुँदैछ ।










प्रतिक्रिया दिनुहोस्