समाचार

उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सम्पन्न



काठमाडौँ, १७ कार्तिक । आज आइतबार उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्वको समापन भएको छ ।

मूलविधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।

व्रतालुहरूले पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ्य अर्पण गरेका थिए ।

अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन छ । छठपर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठपर्व महिलाहरूको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो ।

अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो ।