काठमाडौँ, १८ कार्तिक । तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजविरुद्ध किटानी उजुरी परेमा ठगी मुद्दामा कारवाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगले तदारुकता देखाएको छ ।
मन्त्रालयले र आयोगले आइतबार सम्बन्धित पीडित पक्षलाई किटानी उजुरी दिन आव्हान गरेको हो । चर्को शुल्क लिइएको विरोधमा चितवन, पोखरा, भैरहवालगायत क्षेत्रमा विद्यार्थीले आन्दोलन गरिरहेका छन् ।
मन्त्रालय र आयोगले आइतबार संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा स्पष्ट भनिएको छ, ‘कुनै पनि पक्षबाट कुनै पनि बहानामा सरकारले तोकेको शुल्कको अवज्ञा हुने स्थिति आएमा किटानी उजुरीका आधारमा प्रचलित कानूनबमोजिम नेपाल सरकार कानूनी कारवाही गर्न बाध्य हुने स्थिति सिर्जना हुने व्यहोरा जानकारी गराइन्छ । विद्यार्थी तथा तिनका अभिभावकबाट तोकिएको भन्दा बढी शुल्क लिइएको भए सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा प्रमाणसहित उजुरी गर्नु सम्बद्ध सबैमा पुनःअनुरोध छ । नियमितरुपमा अध्ययन तथा अध्यापन एवं स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ ।’
चिकित्सा शिक्षामा अध्ययनरत विद्यार्थीको शैक्षिकसत्र २०७६÷७७ का लागि एमबिबिएसतर्फ काठमाण्डौ उपत्यकाभित्रका लागि रु ४० लाख २३ हजार २५० र उपत्यका बाहिरका लागि रु ४४ लाख ३६ हजार २५ एवं बिडिएसतर्फ रु २० लाख १९ हजार ५८० कायम गरिएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०७५ असोज २८ को निर्णयबाट शैक्षिकसत्र २०७५र०७६ का लागि एमबीबीएसतर्फ काठमाण्डौ उपत्यकाभित्रका लागि ३८ लाख ५० हजार रुपैयाँ र उपत्यका बाहिरका लागि ४२ लाख ४५ हजार रुपैयाँ एवं बिडिएसतर्फ १९ लाख ३२ हजार ६१२ रुपैयाँ कायम गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्