दाङ, २१ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टीभित्रको गुटबन्दीले पार्टीलाई कमजोर बनाउँदै लगेकाले यसलाई अन्त्य गर्नुपर्ने बताउँदै आफ्नो पार्टीको दुश्मन पार्टी भित्रै रहेको उल्लेख गर्नुभएको छ ।
नेकपा दाङले बुधबार तुलसीपुरमा आयोजना गरेको जिल्लास्तरीय वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गुटबन्दीरहित पार्टी निर्माण गर्ने, सबै पार्टी सदस्यलाई माक्र्सवादी विचारमा प्रशिक्षण दिने र त्यहीअनुसार पार्टी सदस्य जिम्मेवार बने यो समस्या समाधान हुने दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो दुश्मन हामीभित्रै नै छ, बाहिरको दुश्मनलाई त हामीले पराजित गर्दै आएका छौँ र अब हामीले पार्टीभित्रको गुटबन्दीलाई अन्त्य गर्नतर्फ हामी लाग्छौँ ।”
अध्यक्ष दाहालले एकताका क्रममा तत्कालीन एमालेको जनताको बहुदलीय जनवाद र तत्कालीन माओवादी केन्द्रको २१औँ शताब्दीको जनवादलाई समायोजन र परिमार्जन गरेर समाजवादउन्मुख जनताको जनवाद बनाएको स्पष्ट पार्नुभयो ।
नेकपाका प्रदेश नं ५ का इञ्चार्ज तथा मुख्यमन्त्री शङ्कर पोख्रेलले आलोचनाको सामना गर्नसक्नु नै सक्षम नेतृत्व भएको बताउनुभयो । उहाँले आलोचना गरेमा आतिने र प्रशंसा गर्दैमा रमाउने गरेमा आफैँ कमजोर हुने भन्दै यसमा सजक रहनुपर्ने बताउनुभयो । उहाँले पार्टी एकता चुनाव जितेर सरकार बनाउनलाई मात्रै नभई समाजलाई रुपान्तरण गर्न एकता गरिएको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्