समाचार

द्रूत गतिको ‘फोरजी’ सातै प्रदेशका शहरहरुमा



काठमाडौँ, २५ कार्तिक । नेपाल टेलिकमले द्रूत गतिको ‘फोरजी’ सातै प्रदेशका शहरहरुमा सञ्चालन गरेको छ ।

पूर्वको विर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरहरुमा सहुलियतमा फोरजी सिमकार्ड वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानका रूपमा सञ्चालन गरेको टेलिकमले जनाएको छ ।

सो कार्यक्रमअन्तर्गत गत कात्तिक २० विर्तामोड र २२ गते वीरगञ्जमा सिमकार्ड वितरणका साथै फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रवद्र्धन कार्य उत्साहजनक रूपमा सम्पन्न भएको छ । आइतबार चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा सिमकार्ड वितरण कार्य सम्पन्न गरिएको छ ।

यही कात्तिक २६ नेपालगञ्जको रामलीला मैदान, २८ गते सुर्खेतको आँखा अस्पताल क्षेत्र, ३० गते महेन्द्रनगरको खुला मञ्च र मङ्सिर ४ गते पोखराको अमरसिंह मैदानमा सिमकार्ड वितरण गरिने छ ।

यसमा टुजी वा थ्रिजी सिम भएका कम्पनीका ग्राकहरुलाई २०० एमबी डाटा बोनससहित फोरजी सिम प्राप्त हुनेछ । गृष्मा ब्रोडकास्टिङले सातै प्रदेशका विभिन्न स्थानमा प्रतिष्ठित कलाकारहरुका साथमा गरिरहेको साङ्गीतिक कार्यक्रम सप्तरङ २ मार्फत पनि टेलिकमको फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रवद्र्धन गरिएको टेलिकमले जनाएको छ ।