Banner News

मन्त्री बिष्ट र जापानका कृषि मन्त्रालयका उपमहानिर्देशक नाकाडाबीच भेटवार्ता



काठमाडौँ, २६ कार्तिक । जापानले नर्सिङपछि दोस्रो चरणमा कृषि, वन तथा मत्स्य र खाद्यान्न क्षेत्रमा समेत नेपालबाट जनशक्ति लैजाने इच्छा देखाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टसँगको भेटमा जापानका कृषि तथा वन मन्त्रालयका उपमहानिर्देशक तकामी नाकाडाले यस्तो आशय व्यक्त गर्नुभएको हो ।

भेटमा मन्त्री बिष्टले श्रम लगायतका क्षेत्रमा जापानबाट भएको सहयोगप्रति आभार प्रकट गर्दै नेपालबाट कृषि जनशक्ति लगेर जापानले धेरै लाभ लिनसक्ने धारणा राख्नुभयो । जापानसँग भएको सहकार्यको श्रम समझदारीअनुरुप कामदार लैजाने प्रक्रियालाई अझ विश्वयसीय बनाउन मन्त्री बिष्टले आग्रह गर्नुभयो ।

जापानले यसअघि नै केयर गिभरका लागि विभिन्न चरणमा परीक्षा लिने गरी तालिका सार्वजनिक गरेको थियो । त्यसअनुरुप जापानले स्वतस्फूर्त रुपमा परीक्षा लिन थालेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

सहकार्यको समझदारीमा जापान विभिन्न १४ क्षेत्रमा कामदार लैजाने सहमति भएको छ । ती क्षेत्रहरुमा कृषि, नर्सिङ केयर, सवारी साधन मर्मत सम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, माछा मार्ने र माछापालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्टिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवसाय, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हवाई उद्योग रहेका छन् ।