राजनीति

आज बंगलादेशी राष्ट्रपति नेपाल आउँदै, यस्तो छ कार्यक्रम



काठमाडौँ, २६ कार्तिक । नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाललको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका लागि आज नेपाल आउँदै हुनुहुन्छ ।

परराष्ट्र मन्त्रालयका अनुसार, राष्ट्रपति हमिद मंगलबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको छ । ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउन लागेका हमिद कात्तिक २९ गतेसम्म नेपालमा रहनेछन् ।

हमिदले नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ । सोही दिन आफ्ना बंगलादेशी समकक्षी तथा उहाँले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा राष्ट्रपतिले आयोजना गर्ने राजकीय भोजमा पनि हमिद सहभागी हुनुहुनेछ ।

त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पनि हमिदले भेटवार्ता गर्ने तय भएको छ । हमिदले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक दलका वरिष्ठ नेताहरूसँग भलाकुसारी गर्ने परराष्ट मन्त्रालयले जनाएको छ ।

भ्रमणको दौरानमा बंगलादेशका राष्ट्रपति हमिदले आज तीन बजे भक्तपुर दरबार क्षेत्र अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै राष्ट्रपति हमिदले चन्द्रागिरि, पोखरालगायत स्थानको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ ।