समाचार

स्थापनाको रजत महोत्सवमा सुदिप इन्टरनेशनलको भवन उद्घाटन र सम्मान



ललितपुर, २७ कार्तिक । ३० वर्ष अघिदेखि नै मेडिकल तथा सर्जिकल सामग्रीको व्यवसायमा संलग्न रहेता पनि व्यवसायी भक्त बहादुर हमालले सन् १९९४ मा स्थापना गरेको सुदिप इन्टरनेशनल प्रा.लि स्थापनाको २५ औं वार्षिकोत्सव अर्थात रजत महोत्सवको अवसरमा सोमबार उक्त कम्पनीको नवनिर्मित भवन उद्घाटन तथा कर्मचारी सम्मान गरिएको छ ।

ललितपुर नगरपालिका वडा नं १० ज्वागल कुपन्डोलमा नवनिर्मित भवनको सो वडाका अध्यक्ष नरसिंह व्यञ्जनकारले उद्घाटन गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे रहेता पनि उनी राजधानी बाहिर भएको र मौसमको खरावीले प्लेन समयमै नउडेका कारण कार्यक्रमस्थलमा आउन नभ्याएकोले वडाध्यक्ष व्यञ्जनकारले नै सो भवनको उद्घाटन गरेका थिए । तर पुर्वमन्त्री पाण्डे होटल हिमालयमा आयोजित औपचारिक कार्यक्रम सकिएपछि साँझ ८ बजे रात्रीभोजमा सहभागी हुन भने पुगेका थिए ।

भवन उद्घाटन तथा निरीक्षणपछि होटल हिमालयमा आयोजित औपचारिक कार्यक्रममा सुदिप इन्टरनेशनल प्रालिका संस्थापक अध्यक्ष एवम् प्रवन्ध निर्देशक भक्त बहादुर हमालले कम्पनी स्थापनाको २५ वर्षे इतिहास एवम् झेल्नुपरेका आर्थिकलगायतका समस्याबारे बताएका थिए ।

कम्पनीले २५ वर्षको अवधिमा जुनसुकै रोगको पहिचान गर्न प्रयोगशालाको लागि आवश्यक पर्ने प्रयोगशाला किटदेखि अस्पतालहरुको लागि आवश्यक पर्ने धेरै प्रकारका गुणस्तरीय जर्मनी ह्युमन कम्पनीका ब्राण्डेड उपकरणहरु विक्री वितरण गर्दै आएको हमालले जानकारी गराए ।

कार्यक्रममा सो कम्पनीमा १९ वर्षदेखि कार्यरत कर्मचारी गौतमबहादुर तामांग र १५ वर्षदेखि कार्यरत कर्मचारी खिमलाल ढकाललाई प्रवन्ध निर्देशक हमालले प्रशंसापत्रद्वारा सम्मान पनि गरे ।

त्यस अवसरमा नेपाल जर्मन चेम्बर अफ कर्मसका अध्यक्ष अनुप बहादुर मल्ल, केमिकल एण्ड मेडिकल सप्लायर्स एशोसियसन नेपालका अध्यक्ष सुरेश घिमिरे तथा नेपालस्थित जर्मनी राजदूतावासको विकास साझेदारी विभागकी प्रमुख डा.क्लाउडिया हिप्पीले प्रवन्ध निर्देशक हमालको व्यवसायीक यात्राको प्रशंसा गर्दै उज्जवल व्यवसायीक भविष्यको कामना गरे ।

त्यस अवसरमा प्रवन्ध निर्देशक हमालले सुदिप इन्टरनेशनल प्रालिको तर्फबाट नेपाल जर्मन चेम्बर अफ कर्मसका अध्यक्ष अनुप बहादुर मल्ल, केमिकल एण्ड मेडिकल सप्लायर्स एशोसियसन नेपालका अध्यक्ष सुरेश घिमिरे तथा नेपालस्थित जर्मनी राजदूतावासको विकास साझेदारी विभागकी प्रमुख डा.क्लाउडिया हिप्पी, ह्युमन जिएमविएच जर्मनी कम्पनीका उपाध्यक्ष क्रिस्टियन बेकर, स्नाइब कम्पनी चीनकी उपाध्यक्ष लुसी लिऊ, सिटिके बायोटेक अमेरिकाका सिनियर टेरिटरी मेनेजर वैभव सैजा लगायतलाई मायाको चिनो प्रदान गरेका थिए ।