राजनीति

प्रदेश ३ को लोक सेवा आयोग अध्यक्षमा श्रेष्ठ सिफारिस



काठमाडौँ, २९ कार्तिक । मुख्यमन्त्री डोरमणि पौडेल संयोजकत्वको सिफारिस समितिले प्रदेश ३ को लोकसेवा आयोगको अध्यक्ष नियुक्तिका लागि पूर्वसचिव सुरेशमान श्रेष्ठलाई सिफारिस गरिएको छ ।

अध्यक्ष र सदस्य नियुक्तिका लागि सिफारिस गर्न मुख्यमन्त्री पौडेलको संयोजकत्वमा सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख विपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ सदस्य रहेको समिति गठन गरिएको थियो । सो समितिले अध्यक्षमा श्रेष्ठलाई सिफारिस गरे पनि महिलासहित अन्य दुई सदस्यको नियुक्तिको सिफारिस भने गरेको छैन । श्रेष्ठसहित अन्य दुई सदस्यको नियुक्ति कहिले हुन्छ भन्ने पनि टुंगो लागिसकेको छैन ।

अध्यक्ष र सदस्यको लागि ४ आवश्यक योग्यता तोकिएका छन् । मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्ने, नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने छ । यसैगरी पैंतालिस वर्ष उमेर पूरा भएको र उच्च नैतिक चरित्र भएको हुनुपर्ने छ ।

आयोगका सदस्यमध्ये एक जना बीस वर्ष वा सोभन्दा बढी कुनै सरकारी सेवामा रहेको हुनुपर्ने व्यवस्था छ । त्यस्तै बाँकी सदस्यहरू विज्ञान, प्रविधि, कला, साहित्य, कानून, जनप्रशासन, समाजशास्त्र वा राष्ट्रिय जीवनका अन्य क्षेत्रमा शोध, अनुसन्धान, अध्यापन वा अन्य कुनै महत्वपूर्ण कार्य गरी ख्याति प्राप्त गरेको हुनुपर्छ । प्रदेश लोकसेवा आयोगका पदाधिकारीको सेवा अवधि ६ वर्ष तोकिएको छ ।