महोत्तरी, ३० कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको मुख्य चासो र चाहना भ्रष्टाचारमुक्त जनमुखी प्रशासन निर्माणको लागि नेकपामा मतदान गर्नुपर्नेमा जोड दिनुभयो ।
आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारीका लागि पार्टीद्वारा यहाँका बलवा, मटिहानी र पिपरा गाउँपालिकामा आयोजित कार्यक्रममा उहाँले शान्ति, सुशासन र स्थिरताको पक्षमा मतदान गर्न मतदातालाई अपिल गर्नुभयो ।
उहाँले भन्नुभयो, “ठूला कुरा नगरौँ, अहिले जनताले खोजेको र चाहेको मुख्य कुरा नै स्वच्छ प्रशासन हो । मतदाताले यि माग सम्बोधन गर्नसक्ने दललाई मतदान गर्नुपर्छ ।”
पूर्वप्रधानमन्त्री नेपालले राष्ट्रिय अखण्डता र सीमा सुरक्षाका कुरामा जनताको चासो बढेको उल्लेख गर्नुभयो । सरकारले जनचासोका विषयबारे स्पष्ट अडानसाथ मित्रराष्ट्रसँग कुटनीतिक पहल गरी समस्याको निदान खोज्ने बताउनुभयो ।
पिपराको अध्यक्ष, बलेवा–२ र ८ तथा मटिहानी–६ को वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।










प्रतिक्रिया दिनुहोस्