भौरहवा, ३० कार्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले उत्पादनमा वृद्धि गरेर रोजगारी सृष्टि गर्ने कार्यमा जोड दिनुपर्ने उल्लेख गर्दै अबका दिनमा समाजमा कुनै प्रकारका खाडल, विभेद तथा असमानता हुनु नहुने उल्लेख गर्नुभएको छ ।
सहकारी विभागले आयोजना गरेको स्थानीय तहका पदाधिकारीहरुबीच सहकारी नियमन तथा प्रवर्द्धन विषयक अन्तरक्रिया गोष्ठीलाई आज रुपन्देहीको भैरहवामा सम्बोधन गर्दै मन्त्री अर्यालले समृद्धिको बाटो नै मुलुक विकासको प्रमुख आधार भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब समाजमा कुनै खाडल रहन हुदैन । त्यसका निम्ति आर्थिक समृद्धिको दिशामा अगाडि जानुपर्छ । त्यो हुनका निम्ति सरकार बलियो हुनुपर्छ ।’
कृषिको आधुनिकिकरणमार्फत कृषिमा आधारित जनशक्तिलाई अन्यत्र लगाउन सकिने बताउँदै उहाँले भन्नुभयो, ‘उत्पादन वृद्धि रोजगारी सृष्टि, अबको योजना हुनुपर्छ । अबको दिशा उत्पादनमार्फत आर्थिक विकास गर्ने नै हो ।’
कृषि सहकारीले गर्दै आएको उत्पादन र बजारीकरण हामीकहाँ नमुना रहेको भन्दै उहाँले व्यवसायीक क्षेत्रमा लागेका साना किसानको उत्पादनमा प्रोत्साहन र बजारीकरणमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले सहकारीलाई व्यवस्थित गरेर, सहकारी मार्फत गरिबी निवारण गर्न लाग्नुपर्ने बताउनुभयो ।
अबको विकास समाजवादलाई पछ्याउने खालको हुनुपर्नेमा उहाँको जोड थियो । ‘हामीले स्थापित गरेको मान्यता व्यवहारिक रुपमा कार्यान्वयन गर्न त्यसतर्फ लाग्नुपर्ने आवश्यकता आएको छ । संविधानमा समाजवाद हामीले लेख्यौ । अब व्यवहारिक कार्यान्वयन गर्नेबेला आएको छ ।’
सहकारी स्थानीय तहमा हस्तान्तरण गरिसकेको र अनुगमन, नियमनदेखि दर्ता, खारेजी गर्नेसम्मका काम स्थानीय तहलाई जिम्मेवारी दिइएको बताउनुभयो । तर कर्मचारी भएनन, सहकारी बुझेका मान्छे भएनन्, स्रोतसाधन भएनन्, प्रदेश तहमा सहकारी हेर्ने कुनै निकाय भएन भनेर भन्ने खालका गुनासा रहेको भन्दै यी अप्ठ्यारा हुदाहुदै पनि विषयको गम्भीरतालाई हेरेर कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्