काठमाडौँ, ३० कार्तिक । आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको संघारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा समाजवादी पार्टी परित्याग गरी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नेको लर्को लर्को लाग्न थालेको छ ।
गाँउपालिका प्रमुखको उपनिर्वाचन हुन लागेको पाँचथरको फाल्गुनन्द गाँउपालिकामा नेकपामा प्रवेशको लहर चलेको छ । विहीवार फाल्गुनन्द–२ इम्बुङमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसबाट बीस जना स्थानीयवासी नेकपामा प्रवेश गरे ।
बुधवार उपनिर्वाचनका लागि उम्मेद्वारी दर्तापछि आयोजित सभामा फाल्गुनन्द–३ पौवासारताप र फाल्गुनन्द–६ आङसराङबाट काँग्रेस र समाजवादी पार्टीबाट १२० जना विभिन्न दलका कार्यकर्ता नेकपामा प्रवेश गरेका थिए ।
केही दिन अघि फाल्गुनन्द गाँउपालिका–७ खामेलाखका १७ परिवार काँग्रेसबाट नेकपामा प्रवेश गरेका थिए । त्यसअघि फाल्गुनन्द–३ पौवासारताप, फाल्गुनन्द–२ इम्बुङ लगायत स्थानबाट समेत नेकपामा प्रवेशको लहर चलिरहेको छ ।
नवप्रवेशीहरुलाई प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री एवम् नेकपा केन्द्रीय सदस्य तथा पाँचथर इन्चार्ज इन्द्रबहादुर आङ्बो ‘मौसम’, नेकपा नेता एवं प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङ, संविधानसभा सदस्य, नेकपा केन्द्रीय सदस्य एवम् पाँचथर जिल्ला सहइन्चार्ज अइन्द्रसुन्दर नेम्वाङ, नेकपाबाट गाँउपालिका अध्यक्षका उम्मेद्वार वीरबहादुर कुरुम्बाङ, नेकपाका नेताहरु प्रेमप्रसाद रिजाल, शंखध्वज नेम्वाङ, ठाकुरसिंह नेम्वाङ, देउप्रसाद आङ्देम्बे, करुणा राई, मुक्ति आचार्य, पेम्बा शेर्पा लगायत नेताहरुले स्वागत गर्दै उचित जिम्मेवारी दिने वताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्