पाल्पा, ३० कार्तिक । पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारको पहिलो प्राथमिकता नेपाली भूमिको रक्षा गर्नु भएको बताउँदै नेपाली भूमि र नागरिकको रक्षा गर्न सरकार सक्षम रहेको स्पष्ट पार्नुभएको छ ।
पाल्पाको धुवल पुस्तकालयले आज आयोजना गरेको महाकवि नीलकण्ठ न्यौपानेद्वारा लिखित श्रम–साधना महाकाव्यको लोकापर्ण समारोहमा बोल्दै नेपाली भूमि एक इन्च पनि छाड्न नसकिने भन्दै मन्त्री ज्ञवालीले नेपालको पूर्वमा मेची र पश्चिममा महाकाली नदी नेपालको सिमाना रहेको सुगौली सन्धिमा निर्दिष्ट भएको उल्लेख गर्नुभयो ।
‘सरकारको पहिलो काम नेपाली भूमि र त्यहाँका नागरिकको रक्षा निम्ति क्रियाशिल छ, त्यसमा ढुक्क रहन आग्रह गर्दुछु,’ परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो । सिमाको मुद्दा सेलाउदै जाने वा सरकार पछि हट्छ कि भनेर शंका नगर्न समेत उहाँले आग्रह गर्नुभयो ।
मन्त्री ज्ञवालीले तथ्य र प्रमाणका आधारमा कूटनीतिकरुपमा विवादित सीमा समस्या सुल्झाउने बताउनुभयो । नेपालीमा फूलको मालाजस्तो राष्ट्रिय एकता रहेको उल्लेख गर्दै उहाँले देशको राष्ट्रिय एकता चुँडाउन खोज्ने जो कोही देशद्रोही भएको बताउनुभयो ।
सरकार ठूलो परिर्वतन पश्चात बनेर देशको समृद्धि निर्माणमा अगाडी बढेको जानकारी पनि उहाँले गराउनु भयो । धेरै नयाँ बिषयमा जग राख्ने काम भइरहेको भन्दै मन्त्री ज्ञवालीले देशमा परिर्वतनका संकेतहरु देखिएको र हिजो भन्दा धेरै राम्रा पक्षहरु निर्माण भएको ठोकुवा गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्