Banner News

विकास आयोजनाको जग्गामा धेरै मुआब्जा नखोजौं : प्रधानमन्त्री ओली



काठमाडौँ, २ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास आयोजनाहरुलाई जग्गा दिँदा धेरै मुआब्जा नखोज्न सबैलाई आग्रह गरेका छन् ।

आज माथिल्लो त्रिशुली–थ्री ए जलविद्युत परियोजनाको सिंहदरबारस्थित ’वार रुम’ बाट स्वीच थिचेर उद्‍घाटन गर्दै प्रधानमन्त्री ओलीले जग्गाको मुआब्जा विवादकै कारण माथिल्लो त्रिशुली–थ्री ए समेत ९० बाट ६० मेगावाटमा झार्नु परेको, समयमा सम्पन्न गर्न नसकिएको र यसले लागत समेत बढाएको बताउदै उनले भने, ‘त्यसैले अनुचित लाभ लिनुपर्छ भन्ने प्रवत्ति छोड्न सबैलाई आग्रह गर्छु ।’

आफूले कर तिनुपर्दा कमभन्दा कम मूल्य राख्ने र विकास आयोजनाहरुमा बढी रकम खोज्ने प्रवृत्ति त्याग्नुपर्ने बताउदै उनले मुआब्जाको अनावश्यक विवादका कारण विकास आयोजनाहरु प्रभावित हुने गरेको बताए ।

काठमाडौँबाट प्रधानमन्त्री ओलीले र निर्माणस्थल नुवाकोटको किस्पाङ गाउँपालिका-५ सिम्लेबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन,अर्थमन्त्री डा. युवराज खतिवडा, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्तरुपमा उदघाटन गरेका हुन् ।