राजनीति

कांग्रेसका सांसद र नेताबीच कुटाकुट



वीरगञ्ज, ४ मंसिर । नेपाली कांग्रेसका दुई नेता वीरगञ्जको सडकमा बुधबार विहान कुटाकुट गरेका छन् ।

प्रदेश–२ का नेपाली कांग्रेसका सांसद ओमप्रकाश शर्मा र कांग्रेस वीरगञ्ज नगरकार्यसमिति सभापति भोला कलावारबीच कुटाकुट भएको हो । बुधबार बिहान वीरगञ्ज आदर्शनगरमा रहेको बब्लु चिया पसलमा शर्मा र कलवारबीच कुटाकुट भएको स्थानीयले बताएका छन् ।

दुई नेता कुटाकुटमा उत्रिएपछि चिया पिउन भेला भएकाहरुले छुट्याउने प्रयास गरेका थिए । शर्माले आफूहरूबीच कटाकुट भएको स्वीकारे । आफूलाई गाली दिएपछि सहन नसकेर कुट्नु परेको कांग्रेस नगर सभापति भोला कलवारको भनाइ छ ।

कांग्रेसभित्रको समीकरणमा दुवैजना शेरबहादुर देउवा गुटका हुन् । नगर सभापति कलवार वीरगञ्जमा टाउन हल सञ्चालन पनि गर्छन् । महानगरबाट टेण्डर पारेर कलवारले उक्त टाउन हल सञ्चालन गरे पनि न्यून पैसामा चलाएको भन्दै सांसद शर्माले सार्वजनिक कार्यक्रममै अभिव्यक्ति दिएपछि उनीहरूको सम्बन्ध चिसिएको थियो ।