राजनीति

तीन वर्षभित्रमा नेपाललाई विकास र समृद्धिमा उच्च स्थानमा पुर्याउछौं : नेता शर्मा



भक्तपुर, ४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद जनार्दन शर्माले आगामी तीन वर्ष भित्रमा नेपाललाई विश्वको नजरमा विकास र समृद्धिको उच्च स्थानमा पुर्याउने उद्घोष गर्नुभएको छ ।

आगामी मंसिर १४ गते हुन गईरहेको उपनिर्वाचनको संघारमा रहेको भक्तपुर क्षेत्र नं. १ (क)मा नेकपाका उममेदवार डिपी ढकाललाई विजयी गराउन चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोटमा निर्वाचन परिचालन कमिटीको आयोजनामा भएको चुनावी घरदैलो कार्यक्रममा बोल्दै उहाँले राष्ट्रको विकासको लागि नेकपा पार्टी निर्माण गरेको उल्लेख गर्नुभयो ।

विकासको बाटोहरु स्पष्ट रहेको उल्लेख गर्दै उहाँल् नेकपा राष्ट्रको समृद्धिको प्रतिक भएको बताउनुभयो । चुनावी प्रतिवद्धतालाई शतप्रतिशत कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै उहाँले पछिल्लो समय परिवर्तन विरुद्ध हुने दुसप्रयासलाई चिर्दै अघि बढ्नु अहिलेको आवश्यकता रहेको औल्याउनुभयो ।

भ्रष्टाचारी, दलाली, घुसखोरी, हत्यारा, विभिन्न हिंसामा लागेका व्यक्ति वा समुहलाई वर्तमान नेकपा नेतृत्वको सरकारले निर्मम भई कारवाही गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘भ्रष्टाचारी हाम्रो वा अर्काको भन्ने हुँदैन, सरकारले निर्मम भई कारवाही गर्छ । देशको स्वाभीमान गुम्ने कुनै पनि प्रकारका गतिविधि हाम्रो लागी सैह्य हुँदैन । सीमा रक्षा गर्नु हाम्रो जिम्मा हो । जुन सुकै विकल्प लगाएर भए पनि देशको सीमा रक्षा गर्छौ । हामी कसैको एक इन्च पनि भूमि मिच्दैनौं, कसैले मिचे छोड्दैनौं ।’

नेकपाका आठ लाख सदस्याता भएका व्यक्तिहरुलाई हात हातमा औचार बोकाएर मुलुकको समृद्धिको लागि अघि बढाउने उद्घोष गर्दै उहाँले सवै नेपालीलाई उत्पादनमा जोड्नु अहिलेको अपरिहार्य रहेको बताउनुभयो । उहाँले नेकपाको स्वार्थ भनेको पदयी स्वार्थ नभई नयाँ समाजवादको बाटो भएको उल्लेख गर्नुभयो ।