काठमाडौँ, ७ मंसिर । राष्ट्रियसभाका १९ जना सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदैछ ।
दुई वर्षे कार्यकाल पाएका राष्ट्रियसभाका १८ जना निर्वाचित र मनोनित एकसहित १९ जना सदस्यको पदावधि फागुन २० गते सकिन लागेको हो ।
२०७५ असार ४ गते राष्ट्रियसभाका सदस्यहरुले गोलाप्रथाका आधारमा पदावधि छनोट गर्ने क्रममा १९ जनाको पदावधि दुई वर्ष मात्र तय भएको थियो । गोलाप्रथा पछिबाट गरिए पनि संघीय संसदको पहिलो बैठक बसेको मिति २०७४ फागुन २१ देखि नै उनीहरुको पदावधि गणना हुने हुँदा आगामी फागुन २० गते उनीहरुको पदावधि सिद्धिनेछ ।
राष्ट्रिय सभाका सदस्यहरुको पदावधि सम्बन्धमा संविधानको धारा ८६ को उपधारा ४ मा उल्लेख छ, ‘यो संविधान प्रारम्भ भएपछि राष्ट्रिय सभाका सदस्यको पहिलो पटक पदावधि गणना गर्दा राष्ट्रिय सभाको प्रथम बैठक बसेको दिनबाट सम्पूर्ण सदस्यहरुको पदावधि प्रारम्भ भएको मानिनेछ ।’
यो प्रावधान अनुसार दुई वर्ष पदावधि कायम भएका र आगामी २० फागुनमा पदावधि सकिनेमा सत्तारुढ दल नेकपाका तर्फबाट अर्थमन्त्री डा। युवराज खतिवडा सहित कमलाकुमारी ओली, हरिचरण शिवाकोटी, कालीबहादुर मल्ल, खेमराज नेपाली, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, युटोल तामाङ र राजकुमार कुँवर छन् । प्रमुख प्रतिपक्ष दल कांग्रेसका तर्फबाट प्रमुख सचेतक सुरेन्द्रराज पाण्डेसहित दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, बद्रीप्रसाद पाण्डे, मुक्ताकुमारी यादव, विन्दादेवी आले ९राना० र सरिता प्रसाई छन् ।
यसैगरी, राष्ट्रिय जनता पार्टी नेपालका सदस्यहरुमा रमेशप्रसाद यादव र वृषेश चन्द्र लाल छन् भने समाजवादी पार्टीका रामप्रित पासपान छन् ।दुई वर्षे पदावधि समाप्त भएका सदस्यहरु पुनः राष्ट्रिय सभा सदस्य बन्न सक्छन् ।
प्रतिक्रिया दिनुहोस्