काठमाडौँ, ९ मंसिर । नागरिक समाजकातर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गर्दै उक्त नक्सा संयुक्त राष्ट्र संघमा पुर्याइने बताइएको छ ।
काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अभियानको नक्सा समितिले नेपालको राजनीतिक नक्सा तयार गरी सार्वजनिक गरेको हो । नक्सा तयार गरेको विधिबारे जानकारी दिदै अभियानका प्रा.डा. नरेन्द्र राजखनालले विज्ञका हिसाबले नदीको रेखांकन गरिएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो ‘डिजीटल एलिभेसन मोडेलबाट रेखांकन गरेका हौं । यही विधिबाट रेखांकन गरिएको हो । नक्सा बनाउँदा काली नदीको मुहानबारे प्रष्ट उल्लेख गरिएको छ ।’
सीमा बचाऊ अभियानको नक्सा समितिका विज्ञ कोमलचन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारिएकाले यसलाई विश्वव्यापी बनाउने जानकारी दिनुभयो ।
नागरिक अगुवा तथा सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले नेपालको नक्साबारे घर घरमा चर्चा हुनुपर्ने बताउँदै अरुको जमिन नलिने र आफ्नो जमिन अलिकति पनि नछोड्ने नेपालको मूल सिद्धान्त रहेको पनि बताउनुभयो । सार्वजनिक गरिएको नक्सा सुगौली सन्धी अनुसारको भएको पनि उहाँको भनाइ छ ।
नापी विभागका पूर्व महानिर्देशक पुण्य दाहालले काली नदीको मुहानबारे प्रमाण रहेको भन्दै आफूहरुले पनि विगतमा यसमा काम गरेको बताउनुभयो । पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले भारतको नयाँ नक्सालाई सबै नेपाली मिलेर प्रतिरोध गर्न आवश्यक रहेको पनि बताउनुभयो ।
पूर्व सचिव तथा अभियानकर्ता डा. द्धारिकानाथ ढुंगेलले संयुक्त राष्ट «संघसम्म नक्सा पुर्याउनेबारे विचार गरिएको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्