Banner News

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार



काठमाडौँ, १५ मङ्सिर । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय मात्रामा सुधार भएको छ ।

मङ्सिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएको अस्पतालले जनाएको छ । उहाँको मिर्गौलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको उपचारमा सम्लग्न चिकित्सकले जानकारी दिनुभएको छ ।

‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’का कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ, शल्यक्रिया गरिएको घाउ निको हुँदै गएको छ ।

प्रधानमन्त्रीले विहीबारदेखि नै मुखबाट ठोस खाना खान र विस्तारै हिडडुल गर्न थाल्नुभएको थियो । कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो “हामीले आवश्यक सबै कुरामा ध्यान दिएका छौँ । शल्यक्रिया गरिएको घाउ यही क्रममा सुधार भएमा यो हप्ता प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न सकिन्छ ।”

घाउको सङ्क्रमण नहोस् भन्नाका लागि मात्र सघन उपचारकक्षमा प्रधानमन्त्रीलाई राखिएको उहाँका निजी चिकित्सक डा. दिव्यासिंह शाहले बताउनुभयो ।