समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र चेकजाँचमा कडाइ



काठमाडौँ, १८ मंसिर । तस्करबाट अवैध वस्तु र जिन्सी सामग्री भेटिन थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र जाँचमा कडाइ गरिएको छ । प्रहरीले यात्रुको आवागमन हुने ढोका सुरक्षाकर्मी संख्या बढाउनुका साथै सीसी क्यामेरा, इलेक्ट्रीक ढोका र लगेज तथा अन्य सामान जाच गर्न प्रयोग गरिने विद्युतीय एक्सरे मेसिन थप गरेको हो ।

विदेशबाट फर्कने यात्रु र तस्करको लगेजबाट बढी अवैध सामान तथा सुन भेटिएपछि प्रहरीले त्यसलाई थप कडाइ गर्न विभिन्न प्राविधिक मेसिन जडान भइरहेको विमानस्थलले जनाएको छ । विमानस्थलका प्रहरी प्रमुख डिआइजी सूर्य उपाध्यायका अनुसार आइटीको बढी प्रयोग भइरहेको बेला विमानस्थलभित्र पनि त्यसको आवश्यकता महसुस गर्दै नयाँ मेसिन थप गरिएको छ ।

यसअघिका मेसिनबाट कालो प्लास्टिकमा बेरिएको सामानसमेत पत्ता लगाउन समस्या हुने अवस्था थियो । तस्करीमा यही प्रविधि प्रयोग गर्न थालिएको प्रहरीले जानकारी दिँद आएको थियो । यात्रु ओर्लिएपछि जाँचको लागि अहिले नयाँ मेसिन जडान गरिएको छ । चोर र तस्करलाई सजिलो भइरहेको सरकारी अधिकारीले निष्कर्ष निकालेपछि नयाँ प्रविधि जडान गरिएको हो । प्रहरीका अनुसार करिब ११ करोडको अत्याधुनिक एक्सरे मेसिन जडान भइसकेका छन् । यो खबर आजको नागरिक दैनिकमा छ ।