Banner News

उपप्रधानमन्त्री पोखरेल र अमेरिकी सहायक रक्षामन्त्री सीचरिभरबीच शिष्टाचार भेटवार्ता



काठमाडौँ, २० मंसिर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल र अमेरिकी सहायक रक्षामन्त्री रन्डल जी सीचरिभर (Randall G. Schriver)बीच शिष्टाचार  भेटवार्ता भएको छ ।

सिंहदरवारमा भएको शिष्टाचार भेटवार्तामा दुई देशको आपसी सम्बन्ध र सहकार्यको बारेमा विशेष चर्चा भएको छ । भेटमा उपप्रधानमन्त्री पोखरेलले नेपालको आर्थिक तथा सामाजिक विकासमा अमेरिकाले पुर्याएको सहयोगको बारेमा चर्चा गर्नुभयो । दुई देशबीचको सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित रहेको चर्चा गर्दै दुई देशको थप घनिष्ट र फलदायी बनाउन निरन्तर उच्च स्तरिय राजनीतिक सम्बाद भइरहनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तो उहाँले अमेरिकाले नेपाली सेना तथा अन्य विविध सहयोगको प्रशंशा व्यक्त गर्दै पाँचखाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई सुदृढ बनाउन, मानविय सहायता तथा विपद् व्यवस्थापनलगायतका कार्यहरुमा अमेरिकी सरकारले गरेको सहयोगलाई धन्यवाद व्यक्त गर्नुभयो ।

अमेरिकी सहयाक मन्त्री रान्डलले अमेरिकाले साना ठूला सवै राष्ट्रहरुको सार्वभौमिकतालाई उच्च सम्मान गरेको बताउँदै नेपालको विकास र समृद्धिमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । नेपाली सेनाले संयुक्त राष्ट्र संघको विश्व शान्ति स्थापनामा पुर्याएको सहयोगको उच्च मुल्याङ्कन गरेको बताउँदै नेपाली सेनाको क्षमता अभिवृद्धि गराउने कार्यमा अमेरिकाले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।