Banner News

समृद्धिका लागि पाँच आधार तय : मन्त्री पोखरेल



ललितपुर, २० मंसिर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले समृद्धिका लागि पाँच आधार तय भएको बताएका छन् ।

आज गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही नमूना मावि भवनको हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले कृषिमा आधुनिकीकरण, उद्योगको विकास, ऊर्जा, शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकास गरेर अघि बढ्न सरकार क्रियाशील रहेको बताएका हुन् ।

सरकारी स्वामित्वका उद्योगहरु धराशायी हुनाका कारण खोजी गरिने बताउँदै उनले भने, ‘ती उद्योग कसरी धराशायी भए र आगामी दिनमा कसरी अघि बढ्ने भनी आत्मसमीक्षा हुनेछ ।, देशमा ७० प्राविधिक शिक्षा र ३० प्रतिशत सामाजिक शिक्षा हुने गरी योजना बनाइएको छ, एक्काइसौँ शताब्दीमा व्यावसायिक र व्यावहारिक शिक्षाको आवश्यकता छ ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले भूकम्पका समयमा क्षतिग्रस्त भएका झण्डै सात हजार ५ सय विद्यालयको पुनर्निर्माण भएको बताए । तीमध्ये पाँच हजार ३ सय विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने अरू विद्यालयका भवन निर्माण भइरहेका छन् ।