राजनीति

राष्ट्रियसभाका एकतिहाइ सदस्यको निर्वाचन तयारी अघि बढ्याे



काठमाडौँ, २३ मंसिर । निर्वाचन आयोगले राष्ट्रियसभाका एकतिहाइ सदस्यको निर्वाचन तयारी अघि बढाएको छ। संसद् सचिवालयले राष्ट्रियसभाका एकतिहाइ सदस्यको पदावधि फागुन २० गतेदेखि सकिन लागेकाले निर्वाचन प्रक्रिया अघि बढाउन पत्राचार गरेलगत्तै आयोगले निर्वाचनका विषयमा संविधानविद्, कानुनविद्, राजनीतिक दल र सरकारसँग परामर्श अघि बढाएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले फागुन २० गतेदेखि राष्ट्रियसभाका एकतिहाइ सदस्यको पद रिक्त हुने भएकाले निर्वाचन प्रक्रिया अघि बढाउन संसद् सचिवालयबाट पत्र प्राप्त भएको र आयोग आवश्यक तयारीमा जुटेको बताए । ‘कानुनअनुसार रिक्त हुनुभन्दा ४४ दिनअघि निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ, सोअनुसार १५ गतेभित्र निर्वाचन सम्पन्न गरिसक्नुपर्ने हुन्छ,’ प्रमुख आयुक्त थपलियाले नागरिकसँग भने, ‘निर्वाचनकै लागि हामीले आइतबार संविधानविद् एवं कानुनविद्सँग परामर्श गरिसकेका छौं, अब सोमबार राजनीतिक दल र सरकारसँग परामर्श गरेर मिति तय गर्ने कार्यक्रम छ ।’

राष्ट्रियसभा सदस्य निर्वाचन ऐनको दफा ५५ को व्यवस्थाअनुसार सदस्यहरूको पद रिक्त हुनु ३५ दिनअघि नै निर्वाचन गराइसक्नुपर्ने व्यवस्था छ । राष्ट्रियसभाको पहिलो बैठकले २०७४ फागुन २१ गते बसेकाले सोही मितिबाट पदावधि गणना हुन्छ । ऐनमा प्रत्येक दुई वर्षमा एकतिहाइ सदस्यको निर्वाचन हुने व्यवस्थाअनुसार एकतिहाइ सदस्यको पदावधि फागुन २० गते पूरा हुँदैछ ।

प्रमुख आयुक्त थपलियाले आइतबार संविधानविद्सँगको छलफलमा निर्वाचन नियमावली, व्यवस्थालगायत विषयमा छलफल गरिएको जानकारी दिए । उनले सोमबार राजनीतिक दलसँग परामर्श गर्ने र सोमबारै यसबारे सरकारसँग पनि परामर्श गरेर निर्वाचनका विषयमा मिति तय गरिने बताए ।

‘सोमबार राजनीतिक दल र सरकारसँग परामर्श गरेपछि सरकारसँग संविधानविद् र राजनीतिक दलले दिएको सुझावका आधारमा कहिले गर्ने भन्ने मितिका विषयमा परामर्श गर्छांै,’ थपलियाले भने, ‘आयोग राष्ट्रियसभा निर्वाचनको तयारीमा जुटिसकेको छ, अब छिट्टै निर्वाचनको मिति घोषणा हुन्छ ।’ यो खबर आजको नागरिक दैनिकमा छ ।