भक्तपुर, २४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आज एक कार्यक्रमकाबीच अस्थायी प्रहरी चौकीको उद्घाटन गर्नुभएको छ ।
अरनिको राजमार्ग अन्तरगत सूर्यविनायक नगरपालिका वडा नं. ९ स्थीत सूर्यमोडमा नगरपालिकाको लगानीमा जगाती प्रहरीको पहलमा आज देखी नै प्रहरीको गाडी तथा पाँच जना प्रहरी २४सैं घण्टा रहने गरी उक्त अस्थायी पोष्टको उद्घाटन भएको हो । उक्त स्थानमा प्रहरी पोष्टको स्थापनासँगै काभ्रे र भक्तपुरको मुख्य प्रवेशद्वारबाट हुने अपराधिक तथा अनैतिक गतिविधिलाई रोक्न महत्वपूर्ण भूमिका खेल्ने भएको छ ।
अरनिको राजमार्ग सफाई अभियानले पटक पटक सफाई गरी वातावरण प्रदुषण तथा फोहोर नियन्त्रण गर्ने प्रयास गरे पनि काभ्रेपलाञ्चोक जिल्ला तथा सवारी साधनले फोहोर फोल्ने ठाउँको रुपमा रहेको उक्त स्थानमा प्रहरी पोष्ट राखेपछि राजमार्ग सफाईको लागि समेत महत्वपूर्ण हुने भएको छ ।
अस्थायी पोष्टको स्थापनासँग उक्त स्थानमा सीसी क्यामरा समेत जडान गरिने भएको छ । उक्त सीसी क्यामराको समेत नियन्त्रण प्रहरी पोष्टले नै गर्ने तयारी गरिएको वडा नं. ९ का वडाध्यक्ष उपेन्द्र राज केसीले बताउनुभएको छ । प्रहरी पोष्ट स्थापना गरेसँगै भक्तपुरमा ठूला ठूला अपराधिक तथा अवैध गतिविधि नभएता पनि सामान्य रुपमा हुने कुनै पनि अपराधिक घटना तथा अवैध गतिविधिलाई न्युनिकरण गर्न महत्वपूर्ण हुने अध्यक्ष केसीले बताउनुभयो ।
कार्यक्रममा बोल्दै सांसद बस्नेतले उक्त स्थान एक पर्यटकीय स्थानको रुपमा समेत परिचित भएकाले वातावरण प्रदुषणलाई नियन्त्रण गरी नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० मा साँगाको कैलाश महादेवमा आन्तरिक तथा वाह्रय पर्यटकलाई भित्र्याउन समेत विशेष भूमिका खेल्ने उल्लेख गर्नुभयो । उपत्यकामा घना वस्तीबाट बाहिर घुम्न र प्राकृतिक मनोरम समेत लिने उक्त स्थान भएकाले रिफ्रेस सेन्टरको रुपमा समेत उक्त स्थान रहेको बताउनुभयो ।
भक्तपुरमा ठूला ठूला अपराधिक घटनाको खास चुनौति नरहेको, तुलनात्मक रुपमा अन्य जिल्लामा भन्दा कम भएको उल्लेख गर्दै उहाँले अस्थायी पोष्टले सडक दुर्घटना न्युनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
एसियाकै अग्लो महादेव भनेर चिनिने कैलाश महादेवको संगममा रहेको उक्त स्थानमा उपत्यकाकै सवैभन्दा लामो र अग्लो झोलुङ्गे पुल निर्माणको क्रममा रहेको बताउँदै उहाँले सम्भव भएसम्म आउदो शिवरात्रीमा उद्घाटन गर्ने तयारी रहेको समेत जानकारी गराउनुभयो ।
भक्तपुरले पूर्वाधार क्षेत्रको विकासमा ठूलै फड्को मारेको उल्लेख गर्दै उहाँले नेपाल सरकारले साँगादेखी अनन्तलिङ् सम्मलाई ग्रामीण पर्यटकीय क्षेत्रको रुपमा अघि बढाएको जानकारी दिनुभयो । साँगादेखी आशापुरी जाने सडकको निर्माण कार्य भइरहेको उल्लेख गर्दै आशापुरीलाई इको भिलेजको रुपमा विकास गर्ने योजना उहाँले प्रष्ट पार्नुभयो ।
उक्त स्थानमा सामुदायीक भवनको लागि क्षेत्र विकास कोषबाट वीस लाख बजेट विनियोजन गरेको र साझोदारी कार्यक्रम अन्तरगत नगरपालिकाले समेत बजेट विनियोजन गर्ने बताउँदै उहाँले वडा नं. ९ मा तीन वटा र १० मा दुई वटा ठूला पुलहरु बन्ने प्रकृयामा रहेको जानकारी गराउनुभयो । त्यस्तै उहाँले वडा नं. ९ र १० मा खानेपानीको समस्या समाधान गर्ने उद्देश्यका साथ एक महिनाभित्रमा नै प्रकृया शुरु गरी टेण्डरमा जाने जानकारी गराउँदै खानेपानीको समस्या तत्काल समाधान गर्ने समेत बताउनुभयो ।
कार्यक्रममा भक्तपुर प्रहरी प्रमुख (एसपी) सविन प्रधानले भक्तपुरमा प्रहरी सामुदायीका कार्यक्रम तथा प्रहरीले हालसम्म गरेका जमनमुखी गतिविधि तथा आगामी दिनमा समेत प्रहरीले खेल्ने भूमिका जनताको शान्ति, सुरक्षा तथा अमनचयनको पक्षमा हुने उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्