राजनीति

पत्रकारलाई आधिकारीक सूचना दिनुस् : आयुक्त तिम्सिना



काठमाडौँ, २४ मंसिर । राष्ट्रिय सूचना आयोगका आयुक्त तथा प्रवक्ता यशोदा तिम्सिनाले पत्रकारलाई कुनै लोभ र प्रलोभन पार्ने नभई सम्बन्धीत निकाय वा संस्थाले आधिकारिक सूचना दिन कन्जुस्याई गर्नु नहुने बताउनुभएको छ ।

वियोण्ड वेईजिङ्ग कमिटीको आयोजनामा भएको लैङ्गिक समानताप्रतिको जवाफदेहिता प्रवद्र्धन दिगो विकास लक्ष्य विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै आयुक्त तिम्सिनाले कुनै पनि मिडिया हाउस तथा पत्रकार भड्काउ नियतले नभई संयम तथा व्यहारीकतामा आधारित भई आफ्नो कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।

सत्य, तथ्य र वास्तविकतामा कुनै पनि नागरिकलाई सूचना दिन डराउनु पर्ने आवश्यकता नरहेको औल्याउँदै आयुक्त तिम्सिनाले गलत नियत बोकेका जो कोही मिडियाकर्मीसँग डराउने गरेको उल्लेख गर्नुभयो । पछिल्लो समय जनप्रतिनिधि पत्रकारसँग सवाल जवाफ गर्न कन्जुस्याई गर्ने गरेको उल्लेख गर्दै सत्यतामा अडिक रही आफ्नो काम, कर्तव्य, अधिकार तथा संघियताको वास्तविकता वुझ्नु जनप्रतिनिधिको अपरिहार्यता रहेको औल्याउनुभयो ।

आयुक्त तिम्सिनाले यो बेला भनेको गुनासो मात्र गरेर बस्ने समय होइन, हरेकले आ–आफ्नो क्षमता प्रदर्शन गरे समाजमा हिंसालगायत सबै खालका कुरितीको अन्त्य गर्ने बेला हो भन्नुभयो ।

उहाँले ७७ जिल्लामा सुचनाको हक सम्वन्धमा छलफल चलाउन पुगेको सन्दर्भ सम्झनुहुँदै हामीमा गुनासो गर्ने परिपाटी अलि बढि हावी छ, यो भएन, त्यो भएन भनेर बस्नुभन्दा प्राप्त उपलब्धी, स्रोत साधनको परिचालन गरेर समाज परिवर्तनको बाटोमा हरेक व्यक्ति, जनप्रतिनिधीलगायत सबै एकजुट भए विस्तारै परिवर्तन देखिने गरी हुन सक्छ भन्नुभयो ।

विबिसीका अध्यक्ष शान्तालक्ष्मी श्रेष्ठले सञ्चारमाध्यमले फोटो चित्र, कार्टुन प्रयोग गर्दा समाजको कुरिती, रूढिवादी कुरालाई पस्रय दिने खालको नभई सकारात्मक सन्देश दिने खालको हुुनुपर्नेमा जोड दिनुभयो ।

दिगो विकास लक्ष्य–२०३०, लक्ष्य न. ५ अनुसार लैङ्गिक समानता हासिल गर्ने तथा सबै महिला, किशोरी तथा बालबालिकाहरूलाई सशक्त बनाउने सन्दर्र्भको वास्तविक कार्यान्वयनका लागि हिंसामुक्त समाज हुनैपर्नेमा पनि वक्ताहरूले जोड दिनुभएको थियो ।

विश्वभर हिंसा विरूद्धको १६ दिने अभियान उत्सवको माहोलमा मनाईरहँदा बियोण्ड बेइजिङ्ग कमिटीद्वारा सोमवार राजधानीमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले सो कुरा बताएका हुन् ।

सो कमिटीका अध्यक्ष शान्तालक्ष्मी श्रेष्ठले दिगो विकास लक्ष्यलाई भेट्न त अब दु्रत गतिमा पहल हुन आवश्यक छ भन्नुभयो । साथै हिंसा भनेको समाज विकासको वाधक हो, हिंसामा पर्ने महिला,बालबालिका मात्र पीडित हुन्न, त्यसबाट घर परिवार समाज समुदायभरि नै नकारात्मक विचार फैलन्छ भन्नुभयो ।

उहाँले सञ्चारमाध्यमले कार्टुन, चित्र, फोटोको प्रयोग गर्दा र समाचारका विषयबस्तु, शीर्षक पनि समाजमा सकारात्मक सन्देश दिने किसिमको हुनुपर्छ भन्नुभयो ।

कार्यक्रममा कविता राईले सामाजिक सञ्जालमा हुने हिंसा सम्वन्धी कार्यपत्र प्रस्तुत गर्दै गत आर्थिक वर्षमा पाँचहजार ५७४ वटा उजुरी सो सम्वन्धी परेको तथ्य रहेको जानकारी दिनुभयो । उहाँले सामाजिक सञ्जालमा पनि महिला बालबालिका नै बढि पीडित भएको छ । सामाजिक सञ्जालको प्रयोगकता महिलाले सञ्जालको दुरूपयोग गर्ने विरूद्ध उजुरी गरे पीडकलाई कार्वाही हुन्छ भन्ने कुरा थाह पाउनुपर्छ भन्नुभयो ।