समाचार

संविधान र कानूनले गरेका व्यवस्था व्यवहारमा लागू गर्न सबैको सहयोग आवश्यक



भक्तपुर, २४ मंसिर । नेपालमा महिला सशक्तिकरणका सन्दर्भमा सरकार र विभिन्न संघसंस्थाले कार्यक्रम गर्दै संविधान र कानूनले गरेका व्यवस्था व्यवहारमा लागू गर्न सबैको सहयोग आवश्यक रहेको उल्लेख गरेका छन् ।

इनरह्विल क्लव अफ भक्तपुर र इनरह्विल क्लव अफ राजधानीको संयुक्त आयोजनामा र इनह्विल डिस्ट्रिक ३५० को सहयोगमा राजधानीमा महिला शसक्तिकरण गोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रममा नेपालका ६२ जिल्लामा पैदल यात्रा गरेर विगत पाँच दशक अघि देखि नेपाली महिलाको अवस्थालाई निकटबाट नियालेकी वरिष्ठ लैंगिक अधिकार विशेषज्ञ चाँदनी जोशीले व्यवहारमा धेरै कुराहरु अमिल्दो भएकाले समयानुकुल सुधार गर्नु पर्नेमा जोड दिनुभयो । पुरुष प्रधान समाजमा नारी हरेक पाटोबाट पछि परेकोमा चिन्ता व्यक्त गर्दै उहाँले नारी शसक्तिकरणमा नारी आँफै पनि सचेत हुनु पर्ने धारणा ब्यक्त गर्नुभयो । समाजमा बोलिने भाषा र शैलीले समेत नारीलाई होच्याएको, अपहेलना गरेकोले नारी प्रति व्यक्त गरिने भाषा र शब्द चयनमा समेत ध्यान दिनु पर्ने उहाँको भनाई थियो ।

गीतबाट नै सकारात्मक सन्देश र समाज परिवर्तनको उद्घोष गर्दै आइरहनुभएकी चर्चित गायिका आनी छोइङ डोल्माले शुद्धता र अशुद्धताको रुपमा नारीलाई मापन गरिने संस्कारको अन्त्य गरिनु पर्ने भन्दै नारी सधैं पवित्र हुने बताउनुभयो ।

नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. गणेश गुरुङले महिला अधिकार तथा महिला सशक्तिकरणका सन्दर्भमा नीति निर्माण तर्जुमा गर्न आफूले सक्दो भूमिका निर्वाह गर्ने बताउँदै संविधान र कानूनले गरेका व्यवस्थाहरु व्यवहारमा लागू गर्न सबैको सहयोग आवश्यक भएको तर्फ जोड दिनुभयो ।

इनह्विल डिस्ट्रिक ३५० कि राष्ट्रिय प्रतिनिधि कमल प्रभा खरेलले डिस्ट्रिकले महिला शसक्तिकरणको क्षेत्रमा आफ्ना विभिन्न क्लवहरु मार्फत कार्य गर्दै आइरहेको बताउनुभयो । उहाँले बालिका शिक्षालाई मुख्य प्रथमिकतामा राखेर काम गर्दै आइरहेको जानकारी दिदै बालिकालाई उचित शिक्षा दिन सके भोलीको दिनमा समाज रुपान्तरणमा भूमिका निर्वाह गर्ने सक्ने उल्लेख गर्नुभयो ।

इनरह्विल डिस्ट्रिक ३५० कि अध्यक्ष समिरा धोजुले महिलालाई आत्मनिर्भर बनाउने र आफै निर्णय गर्न सक्ने बनाई आर्थिक, सामाजिक र राजनीतिक क्रियाकलापमा महिला सहभागिता बढाउनु पर्ने आवश्यकता औल्याउँर्दै यसबाट आर्थिक, सामाजिक र राजनीतिक क्रियाकलापमा महिला सहभागिता बढ्ने, उनीहरूको आन्तरिक क्षमताको उजागर हुने, र जोखिम मोल्न सक्ने क्षमताको विकास हुने बताउनुभयो ।

कार्यक्रममा इनरह्विल क्लव अफ भक्तपुरकी अध्यक्ष रिना ताम्राकारले गोष्ठीमा प्रस्तुत बिषय नेपालमा महिला सशक्तिकरणको अवस्था, नीति, योजना, कार्य दिशा तथा संचालित कार्यक्रम प्रस्तुत भएको बताउँदै कार्यक्रमले भबिष्यमा निर्माण हुने नीति कार्यक्रम र प्राथमिकतालाई यथेष्ट आधार प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

करिब एक सय पचास महिलाको सहभागिता रहेको कार्यक्रममा सहभागिलाई आयोजक संस्था इनरह्विल क्लव अफ राजधानी की अध्यक्ष नुर मास्केले स्वागत गर्नुभएको थियो ।

इनरह्विल क्लव अफ भक्तपुरका अध्यक्ष रीना ताम्राकारले आफ्ना अनुभवहरु तथा वर्तमान अवस्थामा महिला शसक्तिकरणको क्षेत्रमा भइरहेका कामहरु र नीति निर्माण तहमा राज्यले गरेका उपलब्धिहरुको बारेमा समेत प्रकाश पारिदिनु भएकोमा वक्ता र सहभागीमा धन्यवाद व्यक्त गर्दै गोष्ठीबाट महिला सशक्तिकरणका लागि केही गर्ने थप प्रेरणा प्राप्त भएको र आगामी कार्यक्रमहरुमा पनि सबैबाट सहयोगको अपेक्षा गर्नुभएको थियो।

सोही कार्यक्रममा महिला विकास, शसक्तिकरण र महिला अधिकारको क्षेत्रमा विगत पाँच दशक अघि देखि विभिन्न ओहदा र जिम्मेवारीमा रहेर नेपाली नारीको सशक्तिकरणमा महत्वपूर्ण योगदान दिएकी चाँदनी जोशीलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।

नेपालमा महिला सशक्तिकरणको अवस्था र चुनौतीबारे सार्थक बहस भएको उक्त गोष्ठी महिला सशक्तिकरण गर्ने गराउने कार्यमा उपयोगी सावित हुने सहभागीहरुको भनाई थियो ।