समाचार

उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात



काठमाडौँ, २७ मंसिर । पश्चिमी वायुको प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको अनुसार हिमपातका कारण मुगु, हुम्ला, डोल्पालगायत उच्च पहाडी तथा हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ । हुम्लामा विमानस्थल नै अवरुद्ध भएको छ । पश्चिमी वायुको प्रभावले एक्कासि बिग्रिएको मौसममा शनिबारबाट सुधार आउने छ ।

विशेष गरी पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागका विभिन्न स्थानमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । त्यसैगरी पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।