समाचार

बालबालिका र वृद्धवृद्धा चिसोको जोखिममा



काठमाडौँ, १ पौष । उपत्यकामा हिउँदे पानी परेसँगै अत्यधिक चिसो बढेकोे छ । चिसो बढेसँगै यसबाट प्रत्यक्ष असर बालबालिका र ज्येष्ठ नागरिकलाई पर्ने हुनाले सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।

ज्येष्ठ नागरिक तथा बालबालिकाहरू जाडो मौसममा बढी पीडित हुने भएकाले उनीहरूलाई जाडोबाट बचाउन चिकित्सकले सुझाव दिएका हुन् । अत्यधिक चिसोले ज्येष्ठ नागरिक र बालबालिकामा निमोनिया, दम, श्वासप्रश्वास, हृदयाघात, ब्रोनकाइटिस, रक्तचाप, हाइपोथर्मिया लगायतका रोग लाग्ने भएकाले उनीहरूलाई चिसो मौसममा जोगाउनुपर्ने चिकित्सकको भनाइ छ ।

वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योतिरत्न धाख्वाले पहिलेजस्तै गरी बालबालिकालाई चिसो मौसममा छाड्न नहुने बताउनुभयो । उहाँले अत्यधिक चिसोले गर्दा बालबालिकालाई निमोनिया, श्वासप्रश्वास, हाइपोथर्मिया लगायतका रोगले आक्रमण गर्ने हुनाले सतर्क रहन आग्रह गर्नुभयो । बालरोग विशेषज्ञ डा. धाख्वाले बालबालिकालाई बाक्ला कपडा लगाइदिनुपर्ने बताउनुभयो । उहाँले उपत्यकामा भन्दा तराईमा जाडोसँगै शीतलहरसमेत पर्ने भन्दै तराईमा बसोबास गर्नेले जाडो तथा शीतलहरबाट बच्न विभिन्न उपाय अपनाउनुपर्ने बताउनुभयो ।

डा. धाख्वाले जाडो मौसमसँगै सामान्य मानिसलाई समेत विभिन्न रोगले सताउने भएकाले मानिसमा तापक्रममा आएको कमीले रोग प्रतिरक्षा क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिकालाई बढी असर गर्ने बताउनुभयो । उहाँले बढी चिसोका कारण हाइपोथर्मिया भएर मानिसको मृत्यु हुनसक्ने भन्दै जाडो मौसमका रोगबाट बच्न बाक्लो कपडा लगाउनुका साथै न्यानो ठाउँमा बस्ने, हिटर ताप्ने, आगो ताप्ने गर्नुपर्छ भन्नुभयो ।

वरिष्ठ स्त्रीरोग विशेषज्ञ तथा परोपकार स्त्री तथा प्रसूति अस्पतालका निर्देशक प्राडा जागेश्वर गौतमले सुत्केरी महिला पनि जाडोको उच्च जोखिममा रहेको जानकारी दिनुभयो । उहाँले सुत्केरीसँगै उनीहरूका भर्खर जन्मिएका सन्तान पनि जाडोको जोखिममा रहेकाले सधैँ न्यानोमा राख्न सल्लाह दिनुभयो । उहाँले नवजात शिशु तथा आमाहरूको चिसोका कारण हुने हाइपोथर्मियाबाट मृत्युसमेत हुने गरेको जानकारी दिँदै चिसोबाट बच्नुपर्ने बताउनुभयो । यो खबर आजको गाेरखापत्र दैनिकमा छ ।