भक्तपुर, ५ पौष । सूर्यविनायक नगरपालिका वडा नं ८ अन्तर्गत जगाते डोलेश्वर सडक खण्डमा पर्ने चख्खु खोल माथि निर्माण सम्पन्न भएको मोटरेबल पुल उद्घाटन र उक्त पुलसँगै चोकको नाम चख्खु खोला पुल्चोक नामाकरण गरिएको छ ।
चख्खु खोला पुल उपभोक्ता समितिको आयोजनामा आज भएको नवनिर्मित पुलको उद्घाटन भएको हो । कुल रु एक करोड ५६ लाखको लागतमा निर्माण सम्पन्न गरिएको उक्त पुलमा स्थानीयवासीको करिव रु २२ लाखको अनुदान तथा एक लाख ५६ हजार नगद सहयोगमा सम्पन्न गरिएको छ ।
उक्त पुल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले शिलान्यास गर्नुभएको थियो । उक्त पुल निर्माणको क्रममा उपभोक्ता समितिको विशेष पहलमा पुलको आसपासमा रहेको सडकमा रिटेनिङ वाल, कालोपत्रे समेत गरिएको छ ।
उद्घाटन कार्यक्रममा सांसद बस्नेतले भक्तपुरको विकास मुलुककै उदाहरणीय भएको उल्लेख गर्दै आसपाल तथा कंक्रिटको भक्तपुरमा उत्पादन तथा निर्माणले काठमाडौँले भक्तपुरलाई खोज्ने अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो ।
भक्तपुरमा पूर्वाधारको क्षेत्रमा जनताको चाहना अनुसारको महत्वपूर्ण उपलब्धी हासिल गरेको उल्लेख गर्दै उहाँले आगामी दिनमा गुणस्तरियतालाई अझ बढि ध्यान दिन जरुरी रहेको औल्याउनुभयो । भौतिक पूर्वाधारले उद्योगको आकर्षण बढ्ने भएकाले आर्थिक तथा रोजगारीको सम्भावना दरविलो हुँदै जाने बताउँदै उहाँले भक्तपुरमा निर्माणको प्रकृयामा रहेको अन्तर्राष्ट्रिय स्तरको रंगशाला, कर्वोड हललगायतका राष्ट्रिय गौरवका आयोजनाहरु निर्माण गरेर विकास विरोधीहरुको आवाज बन्द गर्ने स्ष्ट पार्नुभयो ।
रंगशाला निर्माणको लागि ल्याण्ड पुलिङ तथा डिपीआरको प्रकृया अघि बढाउन युवा तथा खेलकुद मन्त्रालयले आग्रह गरेको र डिपीआर निर्माण सम्पन्न भएपश्चात तुरुन्तै निर्माण प्रकृया अघि बढाउने मन्त्री जगत बहादुर विश्वकर्माले प्रतिवद्धता जनाउनुभएको जानकारी गराउँदै उहाँले मन्त्रालयको प्रकृया ढिलाई भए पनि रंगशाला, कर्वोर्ड हल आफै निर्माण गर्ने समेत बताउनुभयो । उहाँले त्यसको लागि वडा तथा नगरपालिका सकारात्मक रहेकोले अब तत्काल प्रकृया अघि बढ्ने समेत बताउनुभयो ।
उपत्यका विकास प्राधिकरणले भक्तपुरमा एक सयभन्दा वढी सडकहरु निर्माण गरिरहेको जानकारी गराउँदै उहाँले भक्तपुरको इतिहासमा नै नभएको एकै आर्थिक वर्षमा १८ वटा पुलहरु निर्माण भएको जानकारी गराउनुभयो । उहाँले चालुवर्षमा भक्तपुरमा १३ वटा पुलहरु बन्ने जसमा ६ वटा ठूला पुलहरु र वाँकी ७ वटा साना पुलहरु बन्ने जानकारी गराउनुभयो ।
नेपाल मजदुर किसान पार्टी (नेककिपा)लाई लक्षीत गर्दै उहाँले भक्तपुरको विकास निर्माणका कार्यहरुमा कतिपय आलोचकहरुले नियमित प्रकृयाबाट बजेट तथा विकास आएको भन्ने नकरात्मक हल्लाको प्रचारवाजी गरिरहेको र त्यसको पछि लाग्नु जरुरी नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कतिपय आलोचकले भक्तपुरमा समयले ल्याएको विकास हो भनि विश्लेषण गर्ने गरेको सुनिएको छ । यसपाली बालकुमारी रानिकोटको सडक ४० करोडमा निर्माणको प्रकृयामा अघि बढेको छ । जसमा वालकोटबाट शुरु गरी अघि बढ्ने र समयले ल्याएको होइन रहेछ भन्ने आलोचकलाई ज्ञान भएपछि मात्र बालकुमारी तर्फ बन्छ । हनुमन्ते नदीको कोरिडोर सल्लाघारीबाट बालकोट तर्फ बन्ने र भक्तपुर नगरपालिका तर्फ अहिले नबन्ने भएको छ । जसबाट थाहा हुन्छ कि समयले ल्याएको होकी पहलकदमीमा ल्याएको हो भन्ने ।’
भक्तपुरको विकासमा कुनै आग्रह र पूर्वाग्रह नराख्ने बताउँदै उहाँले कतिपय भक्तपुरका जनप्रतिनिधिको घमण्ड तोड्नलाई केही नयाँ मोडालिटी तयार पारेको समेत बताउनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापा, वडा नं. ८ का वडाध्यक्ष किरण थापालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्