बुटवल, ६ पौष । प्रदेश ५ को उत्कृष्ट सहकारीमा तिलोत्तमाको सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड(नेफ्स्कून) को मूल्याङ्कनमा सामूहिक विकास प्रदेश ५ का चार हजार भन्दा बढी सहकारीमध्ये उत्कृष्ट सहकारी घोषित भई पुरस्कृत भएको हो ।
७ हजार ५३ जना सदस्य रहेको सहकारीको शेयर पुँजी १७ करोड २३ लाख, निक्षेप एक अर्ब ७७ करोड, ऋण लगानी एक अर्ब ८० करोड र कूल सम्पत्ति २ अर्ब ३० करोड रहेको छ । संस्थाले गत आर्थिक वर्षमा ७ करोड १७ लाख सञ्चालन मुनाफा आर्जन गरेको थियो । सामूहिक सहकारी आर्थिक कारोवारको हिसावले प्रदेश नं. ५ कै सवैभन्दा ठूलो सहकारी हो । सहकारीको शंकरनगर २ मा आफ्नै चारतले कार्यालय भवन छ भने १९ जना कर्मचारी छन् ।
सहकारीलाई नेफ्स्कुनको २८औं साधारणसभाका अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सहकारीका निवर्तमान अध्यक्ष चुरामणि खरेल र अध्यक्ष सुरेन्द्र वर्मालाई प्रदेशको उत्कृष्ट सहकारी पुरस्कारको प्रमाणपत्र प्रदान गरेकी हुन् ।
सामूहिकसँगै प्रदेशस्तरीय उत्कृष्ट सहकारी पुरस्कार पाउनेमा प्रदेश १ बाट मोरङको सुन्दरपुर सहकारी, प्रदेश २ बाट सर्लाहीको नन्देश्वर महिला सहकारी, प्रदेश ३ बाट रामेछाप मन्थलीको नवजागरण सहकारी, गण्डकी प्रदेशबाट पोखराको पोखरा रोयल सहकारी,कर्णाली प्रदेशबाट सुर्खेतको विरेन्द्रनगर सहकारी र सुदुरपश्चिम प्रदेशबाट बैतडीको जीवनज्योति सहकारी रहेका नेफ्स्कुनका महासचिव चन्द्रप्रसाद ढकालले जानकारी दिए । पाँचवटै उत्कृष्ट सहकारीलाई मन्त्री अर्यालले पुरस्कार र प्रमाणपत्र दिएकी हुन् ।
प्रतिक्रिया दिनुहोस्