विश्व

पाँच दिन भूमिगत समाधि लिएका एक जनाको मृत्यु



एजेन्सी, ७ पौष । भारतको छत्तिसगढस्थित महासमुन्दमा समाधि–साधनाको लागि बसेको एक युवकको ज्यान गएको छ ।

अघिल्ला चार पटकसम्म समाधि सक्दा उनी बेहोशीको अवस्थामा निकालिएका थिए । तर, पनि उनले आफ्नो समाधिलाई विराम लगाएनन् ।

३० वर्षे युवक चमन दास जोशीले पाँच वर्षदेखि हरेक वर्ष यस्तै खालको खतरनाक समाधि लिइरहेका थिए । पछिल्लो पटक, डिसेम्बर १६ विहान ८ बजे उनले पाँचौं पटक १०८ घण्टाको समाधि सुरु गरे ।

समाधिको लागि युवकका अनुयायीहरुले चार फिट गहिरो खाल्टो तयार पारेका थिए । सेता वस्त्र लगाएर युवकले पुजा–अर्चना गरेर खाल्टोमा समाधि सुरु गरेका थिए । उनी समाधिमा बसेपछि उनका अनुयायीले खाल्डोलाई पटरीले ढाकेर माथिबाट माटो हालेका थिए ।

समाधि बसेको पाँच दिनपछि चमनलाई खाल्टोबाट बाहिर निकालियो । खाल्टोबाट निकाल्दा उनी होसमा थिएनन् । त्यसैले उनलाई अस्पताललाई लगिएको थियो तर त्यहाँ चिकित्सकहरुले उनलाई मृत घोषित गरिदिए ।