धनगढी, ७ पौष । नेपाल विद्युत प्रधिकरणले प्रदेश नं ५को प्रदेश डिभिजन कार्यालय, नेपालगंज र सुदूरपश्चिम प्रदेशअन्तर्गत अहिले रहेको वितरणतर्फको विद्युत् चुहावटलाई क्रमश : ८.०५ र १०.६९ प्रतिशतमा झार्ने भएको छ ।
प्राधिकरणको व्यवस्थापनले विद्युत् चुहावट नियन्त्रण, राजश्व संकलन र ग्राहकसँगको सेवा प्रवाह सुधारमा केन्दि्रत भई नेपालगंज र अत्तरिया कार्यालय मातहतका वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रदेश डिभिजन कार्यालय नेपालगंजका प्रमुख मुनिन्द्र ठाकुरले आइतबार र प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख शतिस कुमार कर्णले सोमबार कार्यसम्पादन सम्झौता गरे ।
सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियालाई गत आर्थिक वर्ष (आव) २०७५/७६मा रहेको १३.६९ प्रतिशत विद्युत् चुहावटलाई १०.६९ प्रतिशतमा झार्ने लक्ष्य दिइएको हो । कार्यालयको चालु आवको कात्तिकसम्मको विद्युत् चुहावट ९.६२ प्रतिशत छ ।
कार्यालय मातहत सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका १२मा वितरण केन्द्रहरु छन् । प्राधिकरणको प्रणालीमार्फत ६५.६५ प्रतिशत विद्युतीकरण भएको छ भने ग्राहक संख्या दुई लाख ४१ हजार छ । प्राधिकरणले डिभिजन कार्यालय नेपालगंजलाई गत आवमा १०.६४ प्रतिशत रहेको विद्युत् चुहावटलाई घटाएर चालु आवमा ८.०५ प्रतिशतमा झार्ने लक्ष्य दिएको छ ।
चालु आवको पहिलो चार महिनामा कार्यालयको औसत विद्युत् चुहावट १०.१९ प्रतिशत छ । कार्यकारी निर्देशक घिसिङले प्राधिकरणलाई सार्वजनिक संस्थानमध्ये ‘उत्कृष्ठ नमुना’ संस्थाको रुपमा विकास गर्न वितरण केन्द्रहरु प्राधिकरणको अनुहार भएकाले सबै कर्मचारीले सुशासन कायम गर्दै पारदर्शी र जवाफदेही भएर काम गर्नु पर्ने बताए ।










प्रतिक्रिया दिनुहोस्