समाचार

भक्तपुरमा ईट्टा भट्टा व्यवसायीहरुको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न



भक्तपुर, १० पौष । नारायण थापा । “सफ सुग्घर घर आँगन सफा स्वच्छ बाटो पूर्ण सरसफाई उन्मुख बन्दैछ चाँगुनारायणको माटो” भन्ने मूल नाराका साथ चाँगुनारायण नगरपालिकाको आयोजनामा खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

ग्लोबल सेनिटेशन फण्ड र यु.एन. ह्याविट्याटको सहयोगमा संचालित कार्यक्रममा नगरपालिकाका उपमेयर बिना बास्तोलाले सरसफईको अवस्था कमजोर भएकाले श्रमिकको बालबालिकाको उचित स्याहार तथा सरसफाईको अवस्थामा सुधार गर्नुपर्ने बताउनुभयो । प्लाष्टिक व्यवस्थापन फोहोर मैलाको उचित व्यवस्थापन गर्नुपर्ने बताउँदै श्रमिकको स्वास्थ्यलाई मध्यनजर गरि नयाँ प्रविधिलाई प्रयोगमा ल्याई नयाँ तरीकाले अगाढि बढि धुवा धुलो मैत्री वातावरणको सृजना गरि काम गर्नुपर्ने बताउनुभयो ।

साथै ईट्टा भट्टामा शौचालयको उचित व्यवस्थापन हुनुपर्ने, हात धुने साबुनको व्यवस्था हुनुपर्ने, श्रमिकको बालबालिकाका लागि शिक्षा र स्वास्थ्यमा ध्यानदिनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी तिम्सिनाले २०७८ सम्ममा यो नगरपालिकालाई पूर्ण सरसफाई उन्मुख नगर बनाउनको लागि पहल कदमी भइरहेको बताउनुभयो । पूर्ण सरसफाई उन्मुख ठाँउ बन्नका लागि ईट्टा उद्योगीहरुको भूमिका महत्वपूर्ण भएकाले ईट्टा व्यवसायीहरुले पनि यो क्षेत्रलाई पूर्ण सरसफाई क्षेत्र बनाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रशासन प्रमुख निला घिमिरे, वासबाट रामेश्वर थापा, यु.एन. ह्याविट्याटका पार्वती दंगाल, नेपाल स्वच्छ वातावरण सृजना केन्द्रका इन्द्र बहादुर थापा, नेप्सेम्याक सेवा प्रालिका प्रतिनिधि, कार्यक्रम संयोजक राम सत्याल र भक्तपुरका सम्पूर्ण ईट्टा व्यवसायीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ ।