Banner News

भ्रष्टाचार गरेको पाइएमा जोसुकैलाई पनि सबैले लखेट्नुपर्छ : मन्त्री बाँस्कोटा



कैलाली, १ ५पौष । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले शुसासन र भ्रष्टाचारमुक्त मुलुक निर्माणको महान अभियानमा लागेको बताउँदै भ्रष्टाचार गरेको पाइएमा जोसुकैलाई पनि सबैले लखेट्नुपर्ने उल्लेख गर्नुभएको छ ।

कैलालीको लम्की चुहा नगरपालिकामा ‘लम्की एफएम’को आज उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले सरकारले मिडियाले मुलुकको परिवर्तनको सारथी भई स्वतन्त्र तथा पारदर्शि रुपमा जनतालाई सूचना प्रवाह गरी अघि बढ्नुपर्ने बताउनुभयो ।

सरकारले मिडियालाई सुरक्षा प्रदान गर्ने भएकाले यसले आफ्नो दायित्वसमेत पूरा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘‘भ्रष्टाचार अन्त्यको कुरा आइरहेको छ, भ्रष्टाचार जसले गरेको भए पनि कारवाही हुनैपर्छ । भ्रष्टाचार गरेको पाइएमा जोसुकैलाई पनि सबैले लखेट्नुपर्छ ।’’

सरकारका प्रवक्ता बाँस्कोटाले सुदूरपश्चिमलाई छाउपडी प्रथाको प्रदेश भनेर चिनिन नदिन सञ्चारकर्मीले सहयोग गर्नुपर्ने बताउँदै स्थानीय तहले छाउप्रथा मान्ने र मान्न लगाउने जो कोहीको घरको सामाजिक सुरक्षा भत्ता कटौती गरेमा न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘परिणाम देखिनेगरी स्थानीय सरकारले काम गर्नुपर्छ ’’, ‘‘स्थानीय सरकारको प्रयासविना छाउप्रथा निराकरण गर्न सकिँदैन ।’’