समाचार

मोटरसाइकलसहित चालकलाई प्रहरीले पक्रेर भन्सारमा बुझाए पछि…



काठमाडौँ, १५ पौष । भन्सार, मुल्य अभिवृद्धि कर सहित व्यवसायीको नाफा समेत जोड्दा नेपाली बजारमा एउटा मोटरसाइकलको मुल्य करीव २५० प्रतिशत बढी पर्ने भएपछि भारतीय बजारबाट सस्तोमा नयाँ मोटरसाइकल किनेर विगत पाँच वर्षदेखि राजधानीमा चलाउँदै आएका एक युवा प्रहरीको फन्दामा परेका छन् ।

भन्सार नतिरी मोटरसाइकल ल्याएर चलाउँदै आएका कारण सप्तरीका २७ वर्षे अभिशेष यादव फन्दामा मात्रै परेनन, प्रहरीको चिसो छिंडीमा समेत रात बिताउनु पर्यो ।

नेपाली बजारमा नयाँमा करीव ४ लाख ५० हजार रुपैयाँ पर्ने सो मोटरसाइकल उनले नक्कली नम्वर स ८ प ९००४ राखेर राजधानीमा चलाईराखेको बेलामा महानगरीय प्रहरी प्रभाग कोटेश्वरले मोटरसाइकल धनी यादवलाई बालकुमारी करिडोरबाट आइतबार पक्रेको हो । सो नम्बर उनको अर्काे स्कुटरको नम्वर भएको प्रहरीले जनाएको छ ।

भन्सार नतिरी नेपाल भित्र्याएर सो मोटरसाइकल चलाउँदै आएका यादवलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी प्रभाग कोटेश्वरले मोटरसाइकल सहित सोमबार भन्सार विभागमा बुझाएको छ । पाँच वर्षपछि ह्रासकट्टी गर्दा मोटरसाइकलको करीव मुल्य २ लाख ५० हजार कायम गरिएको प्रहरीले जनाएको छ ।

भारतको कर्नाटक राज्यको यातायात कार्यालयमा दर्ता भएको केटिएम आरसी २०० मोडेलको उक्त मोटरसाइकल सन् २०१४ डिसेम्वरमा बनेको हो ।

मोटरसाइकल धनी यादवले सो मोटरसाइकल भारतमा खरीद गर्दा आफ्नो ठेगाना भुवनेश्वर नगर, बैंग्लोर, भारत लेखेर कर्नाटक राज्यको यातायात विभागबाट दर्ता गरि अनुमति लिएका थिए ।

मोटरसाइकल किनेर चढ्ने रहर हुँदाहुदै पनि नेपाली बजारमा धेरै नै महंगो पर्ने भएकोले भारतबाट आफुले सस्तोमा नयाँ मोटरसाइकल किनेर चलाउन थालेको यादवले प्रहरीलाई बताएका छन् । नेपाल भारतको सीमा नजिक सप्तरीमा घर भएकोले उनलाई भारतबाट सस्तोमा मोटरसाइकल किन्न सजिलो भएको प्रहरीको दावी छ ।