सम्पादकीय

एसएसबीबाट मारिएका साहको परिवारलाई १० लाख



काठमाडौं, १४ चैत । भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) द्वारा ६ वर्षअघि मारिएका मोरङ अमाहिबरियातीका वासुदेव साहको परिवारले क्षतिपूर्ति पाउने भएको छ । ६ वर्षअघि एसएसबीका इन्स्पेक्टरसहित आएका जवानद्वारा नेपाली भूमिमै साहको हत्या भएको थियो ।

साह परिवारले क्षतिपूर्ति नपाएको र दोषीलाई कारबाही नभएकोबारे समाचार प्रकाशन भएपछि सरकारले १० लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङका सहायक सिडिओ शेषराज पौडेलले साहको परिवारले क्षतिपूर्ति नपाएकोबारे सर्वत्र चासो उत्पन्न भएपछि गृह मन्त्रालयले क्षतिपूर्ति दिन निर्देशन दिएको बताए । उनका अनुसार साहको परिवारलाई सोमबार क्षतिपूर्तिबापत सरकारले उपलब्ध गराएको सहयोग हस्तान्तरण गरिनेछ ।

मानवअधिकार आयोगद्वारा प्रशासनसँग विवरण माग

नेपाली सुरक्षाकर्मीको ज्यान जोगाउने क्रममा नेपालको भूमिमै एसएसबीबाट मारिएका साहको परिवारले न्याय नपाएकोबारे नयाँ पत्रिका दैनिकले पटक–पटक समाचार प्रकाशित गरेको थियो ।

सोही समाचारका आधारमा २०७० सालमा राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले उजुरी दर्ता गरेर मोरङ प्रशासनसँग विवरण माग गरेको थियो । तर, प्रशासनले विवरण उपलब्ध नगराएकाले थप कारबाही अगाडि बढ्न सकेको थिएन ।

कञ्चनपुरमा एक महिनाअघि एसएसबीबाट मारिएका गोविन्द गौतमलाई सहिद घोषणा गरेर परिवारलाई सरकारले क्षतिपूर्ति उपलब्ध गराएपछि मोरङमा ६ वर्षअघि मारिएका साहको परिवारले सञ्चारमाध्यममा स्थान पाएका थिए । त्यसपछि मात्र मोरङ प्रशासनले साह परिवारलाई क्षतिपूर्ति दिलाउन भएको सहमतिअनुसार गृह मन्त्रालयलाई सिफारिस गरेको थियो ।

१० लाख दिन निर्देशन दिइसकेको छु : गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले एसएसबीको गोली प्रहारबाट मारिएका वासुदेव साहको परिवारलाई १० लाख राहत उपलब्ध गराउने घोषणा गरेका छन् । आइतबार बसेको व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिको बैठकमा उनले गृह मन्त्रालयमार्फत साहको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय लिइएको जानकारी दिएका हुन् ।

पीडित परिवारले क्षतिपूर्तिको व्यवस्था गर्न केही साताअघि स्थानीय प्रशासनमार्फत गृह मन्त्रालयसँग लिखित आग्रह गरेको थियो । गृह मन्त्रालयले सोमबार नै पीडित परिवारलाई राहत उपलब्ध गराउने तयारी गरेको छ ।

साहलाई गोली हानेर एसएसबीका जवान फरार

११ जेठ ०६७ साँझ ९ बजे भारतको अररिया जिल्लास्थित गरैया गाउँको लैलोखर सीमा सुरक्षा क्याम्पबाट सिभिल पोसाकमा आएका एसएसबीका इन्स्पेक्टर हितेन्द्र सिंह र अर्का एक कन्सटेबल नेपाली प्रहरीसँग विवाद भएको झोकमा नेपालभित्रै पसेर पेस्तोल प्रहार गरी वासुदेव साहको हत्या गरेर भागेका थिए ।

स्थानीय समाजसेवीसमेत रहेका साहलाई तत्काल जिल्ला प्रशासन कार्यालयले सहिद घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस गर्ने र परिवारलाई क्षतिपूर्ति दिलाउने लिखित प्रतिबद्धता जनाएको थियो । तर, अहिलेसम्म पीडित परिवारले केही पाउन सकेको छैन । नयाँ पत्रिकामा समाचार छ ।