काठमाडौ,१६ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजको आधारभूत चरित्र अतिथि देवो भवः अर्थात अतिथिलाई भगवान सरह आदर सत्कार गर्ने चरित्र भएको बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागी हुन छिमेकी मुलुक भारत, चीन तथा विभिन्न मुलुकका पर्यटनमन्त्रीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल भ्रमण वर्ष पर्यटन र पर्यटकको लागि मात्र नभई यसको माध्यमबाट जलवायु परिवर्तनको जोखिम न्यूनीकरणसम्बन्धी विश्व समुदायलाई ध्यानाकर्षण गराइने बताउनुभयो ।
सगरमाथा संवादमार्फत पनि जलवायु परिवर्तनबारे विश्वको ध्यानाकर्षण गराइने बताउँदै उहाँले भन्नुभयो, “नेपाली समाजको आधारभूत चरित्र नै अतिथि देवो भवः हो । पर्यटक पाहुनाका निम्ति यहाँको समाज असल र सहयोग छ ।”
प्रधानमन्त्री ओलीले मुलुकमा ठूलो परिवर्तनपछि राजनीतिक असमानता अन्त्य भई सामाजिक न्याय र समानतासहितको समृद्धि बाटोमा अघि बढेको उल्लेख गर्दै हाम्रो राष्ट्रिय अभियान समृद्धिसँगै तीव्र आर्थिक वृद्धिदर हो भन्नुभयो । प्रधानमन्त्रीले सानो समूह गरिबी र पछौटेपनबाट जकडिएको र त्यसलाई माथि उकास्नका लागि पर्यटन महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले पछिल्लो समय जलवायु परिवर्तनले हिमालको सौन्दर्य बिग्रिएको र यसबारे विश्वको ध्यान केन्द्रित भएको उल्लेख गर्दै जलवायु परिवर्तनको जोखिम न्यूनीकरण विश्वकै चुनौती भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “हमालीले सगरमाथा संवादमार्फत पनि विश्वको ध्यानाकर्षण गर्छौं, भ्रमण वर्ष पर्यटन र पर्यटकका लागि मात्र हैन यो मार्फत जलवायु परिवर्तनबारे विश्वलाई ध्यानाकर्षण गराउँछौँ ।”
कार्यक्रममा चीनका सहायक पर्यटनमन्त्री वाङ सियाओफेङ, भारतका पर्यटन राज्यमन्त्री प्रल्हादसिंह पट्टेल, म्यानमारका प्राकृतिक स्रोत तथा वातावरण संरक्षणमन्त्री यू ओहन मौग, जमैकाका मन्त्री ओन मउङ तथा भूटान, कम्बोडिया, कतारलगायत मुलुकका पर्यटन विभागका महानिर्देशकहरूको पनि सहभागिता थियो ।










प्रतिक्रिया दिनुहोस्