Banner News

पर्यटनमा नयाँ गन्तव्यको विकास गर्न हामी सक्षम छौं : राष्ट्रपति भण्डारी



काठमाडौँ, १६ पौष । राष्ट्रपति विद्यादेवी भण्डारीले आन्तरिक तथा वाह्य पर्यटनमा नयाँ गन्तव्यको विकास गर्न नेपाल सक्षम रहेको उद्घोष गर्नुभएको छ ।

बुधबार भ्रमण वर्ष २०२० को उदघाटन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले प्रकृतिलाई सिंगारेर आर्थिक विकास गर्नुपर्ने अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले सबै खालका पर्यटकलाई आकर्षित गर्न सक्षम रहेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पर्यटक घुम्न मात्रै आउँदैनन्, उनीहरु नयाँ अध्ययन अनुभव लिन पनि आउँछन् । सगरमाथा, लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्जलगायत थुप्रै घुम्न लायक ठाउँहरु छन् । पर्यटनमा नयाँ गन्तव्यको विकास गर्न हामी सक्षम छौं । प्रकृतिलाई सिंगारेर आर्थिक विकासको अभियान सञ्चालन गर्नुपर्छ । पर्यटन उद्योगको विकासमार्फत देशमा विकास हुन्छ ।’

राष्ट्रपति भण्डारीले नेपालका सगरमाथा र लुम्बिनी संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताउनुभयो । उहाँले सर्वोच्च शिखर सगरमाथा र गौतम वुद्धको जन्मस्थल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताउनुभयो ।

विगतमा द्वन्द्व रहे पनि अहिले मुलुक समृद्धिको बाटोमा रहेको भन्दै राष्ट्रपति भण्डारीले अब पर्यटन विकासमा योजनावद्ध विकासको खाँचो रहेको बताउनुभयो । उहाँले पर्यटकीय गन्तव्यबीचको प्रतिस्पर्धाबाट पर्यटन क्षेत्रको विकास गर्न सकिने पनि धारणा राख्नुभयो ।

राष्ट्रपति भण्डारीले पर्यटनलाई नाफा आर्जन र व्यवसाय अभिवृद्धिको रुपमा मात्र नलिन पनि आग्रह गर्नुभयो । पर्यटन वर्षले बसुधैव कुटुम्बकमको आदर्श आत्मसात गर्दै विश्वमा भ्रातृत्व र शान्तिप्रतिको प्रतिवद्धता उजागर गरेको पनि उहाँको भनाइ छ ।