समाचार

सैन्य सहयोग अमेरिकाको भन्दा चीनको बढी



काठमाडौँ, १७ पौष । नेपालमा पछिल्ला पाँच वर्षमा सबैभन्दा बढी सैन्य सहयोग उत्तरी छिमेक चीनबाट भित्रिएको छ । नेपाली सेनालाई सहयोग गर्ने अन्य मुख्य मुलुक अमेरिका र भारतभन्दा चीनको सहयोग बढेको सैनिक मुख्यालय जंगीअड्डा स्रोतबाट कान्तिपुरलाई प्राप्त तथ्यांकमा देखिएको छ । यो अवधिमा चीनबाट करिब १२ अर्बको सहयोग आउँदा अमेरिकाबाट करिब ५ अर्ब हाराहारी सहयोग भित्रिएको छ ।

नेपालले सैन्य सहयोगका रूपमा विभिन्न मुलुकबाट हवाई जहाज, सञ्चारका साधन, बम निष्क्रिय गर्ने साधन, हेभी र लाइट सवारीसाधन, ढुंगा, हतियार, विस्फोटक पदार्थ, संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति स्थापनार्थ चाहिने आर्मोरेट पर्सनल क्यारियर (एपीसी) लगायतका सामान लिन्छ ।

सुरक्षाविद् गेजा शर्मा वाग्ले नेपाली सेनालाई चीनको सहयोग बढ्दै जानुलाई स्वाभाविक मान्छन् । ‘नेपालका सुरक्षा निकायहरूलाई आर्थिक, प्राविधिक र सैन्य सहयोग गरेर आफ्नो सुरक्षा चासोलाई सम्बोधन गर्ने शक्ति राष्ट्रहरूको घोषित रणनीति नै छ,’ उनले भने, ‘त्यही कारण हरेक वर्ष उदीयमान शक्ति चीन, अर्को छिमेकी भारत र महाशक्ति अमेरिकाले नेपालका सुरक्षा निकायलाई सहयोग बढाउँदै लगेका छन् । यो नेपालमा भएको उनीहरूको सामरिक प्रतिस्पर्धाको प्रतिविम्ब पनि हो ।’ उनीहरूले सुरक्षा निकायलाई सहयोग गरेर आ–आफ्नो देशको चासो सम्बोधन गर्ने रणनीति अख्तियारी गर्दै आइरहेको वाग्लेको भनाइ छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।