शैक्षिक

व्यावसायिक च्याउखेतीका नमुना बने कृष्णदास



धुलिखेल, १४ चैत । पनौती–१२ खोपासीका कृष्णदास उलकले च्याउखेतीबाटै मासिकरुपमा लाखौँ आम्दानी गरिरहेका छन् । त्रिपन्न वर्षीय उलकले १२ वर्ष अगाडिदेखि व्यावसायिक रुपमा च्याउखेती गर्दै आएका हुन् ।

अहिले उनी खोपासी बजारभन्दा केही वर जयमाँ हारती च्याउ उद्योग खोलेर काम गरिरहेका छन् । उनले त्यहाँ च्याउ उत्पादनको उद्योग नै खोलेको एक वर्ष जति भयो । सोही च्याउ उद्योगबाट उनले दैनिक २०० देखि २५० केजीसम्म उत्पादन गरी बिक्री गरिरहेका छन् । त्यहाँबाट उत्पादन भएको च्याउ काभ्रेपलाञ्चोकको बनेपालगायत काठमाडौँको बजारसम्म पुगेको उनले बताए ।

स्थायी घर नै त्यही भएका कृष्णदास ३० वर्ष अगाडिदेखि नै च्याउको खेती गर्न थालेको बताउँछन् । उनी भन्छन् – अहिले म व्यावसायिक रुपमा नै यसै खेतीलाई निरन्तरता दिइरहेको छु । यसरी गरिएको खेतीबाट मासिक रु तीनदेखि चार लाख कमाइ हुने उलकको भनाइ छ । खेती पहिलादेखि नै गरेको भए पनि यसरी मासिक तीन÷चार लाखको कमाइ गरेको भने करिब एक वर्ष जति भयो, कृष्णदासले भने ।

उनी भन्छन्, मेरो उद्योगमा काम गर्ने मान्छे दैनिक ११÷१२ जना हुन्छ । उनीहरु दैनिक प्लास्टिकको थैलीमा पराल भर्ने हो । त्यससँगै रेखदेख गर्न थप मान्छे राखिएका छन् ।

च्याउखेतीको अनुभव सुनाउँदै उलकले भने – तीस वर्ष अगाडिको कुरा हो, पहिला च्याउ कसैले पनि खाँदैनथ्यो । यहाँदेखि काठमाडौँको खिचापोखरीसम्म बेच्न लाँदा खेरी पनि खाने मान्छे भेटिएन । च्याउ खायो भने मान्छे मर्छ भन्ने बुझाइ थियो मान्छेमा ।”

उनले भने – “त्यसै कारणले त्यहाँदेखि बीचमा च्याउखेती गर्न छाडेको थिएँ । पछि आएर सबैको चासो र खाँचोको विषय भएपछि पुनः सुरु गरेँ, यसै खेतीबाट आफैँले खाएर, कामदारलाई दिएर सबै खर्च कटाएर १२ वर्षको बीचमा रु ४५÷५० लाख जति नगद कमाइ गरेको छु । यो पेसाबाहेक अरु कुनै पनि काम गरेको छैन । च्याउ उद्योगमा पुग्ने जो कोहीसँग पनि कुरा गर्ने समय हुँदैन उलकको । उनी च्याउ उद्योगमा आउनेसँग काम गर्दै कुरा गर्ने गर्छन् ।

कमाएको जति सबै च्याउखेतीमै लगानी गरिरहेको छु, उलकले भने, अहिले यस उद्योगबाहेक तीन ठाउँमा यस्तै च्याउखेती गरिरहेको छु । अहिले भने कामका लागि थप कामदार राखेका छन् । उनले एक वर्ष अगाडिदेखि वार्षिक रु ८० हजारमा पाँच रोपनी जग्गा लिजमा लिएर काम गरिरहेका छन् । सबैजसो खेती गरेको जग्गा भाडामा नै लिएको उनको भनाइ छ ।

त्यही खेतीबाट दुई छोरा र एक छोरीलाई पढाएको बताउने उनको अहिले दुई छोरामा एक डोजर अपरेटर र अर्को डोजर चालक रहेका छन् । छोरीले यसै च्याउखेतीमै काम गरिरहेको छ, उनले भने – सुरुमा उनीहरुलाई आफैँले लगानी गरेर काम सिकाएको हुँ । अहिले छोराछोरीका लागि कुनै खर्च दिनु पर्दैन । सबै उनीहरु आ–आफैँले कमाएर खाने भएको उलकले बताए । उनले अहिले कन्ये च्याउको खेती गरिरहेका छन् । केही समयपछि सिताके च्याउको उत्पादन गर्ने उनको योजना छ । रासस