भक्तपुर,१४ चैत्र । स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी हुने लक्ष्यका साथएमाले भक्तपुरले संगठनको आन्तरिक अभियानलाई जिल्लाभर तीव्र पारेको छ । भक्तपुरका सबै नगरपालिकामा जिल्ला कमिटीले तय गरेको कार्यतालिकाअनुसार एमालेले चुनावी अभियान अघि बढाएको हो ।
यसैक्रममा सूर्यविनायक नगरपालिकामा आगामी निर्वाचनलाई विशेष ध्यान दिई एमाले भक्तपुरले अभियानलाई तीव्र पारेको हो ।
सूर्यविनायक नगरपालिकामा जिल्ला कमिटी उपसचिव बासुदेव थापालाई संयोजक र जुना बस्नेतलाई उपसंयोजकको जिम्मेवारी तोकिएको छ । पार्टी कार्यालयमा बसेको नगर संगठन कमिटी पहिलो बैठकले नगरका १० वटा वडाको इन्चार्ज चयन गरी सचिवालयसमेत गठन गरेको छ ।
सूर्यविनायक नगरपालिका वडा नं ९ मा भैरव वहादुर खत्रीको संयोजकत्वमा ४१ सदस्यीय वडा सगठन कमिटी गठन गरिएको छ । त्यसरी नै आजै वडा नं १०मा रामशरण गिरी र वडा नं ५ मा विष्णु गुमान्जुको संयोजकत्वमा वडा संगठन कमिटी निर्माण गरेको जिल्ला कमिटी सदस्य रजन केसीले जानकारी गराए । आजै वडा नं ९ नंखेलको श्रीराम निमाविमा अगुवा कार्यकर्ता भेला सम्पन्न भयो । कार्यक्रमको संचालन सूर्यविनायक संगठन कमिटीका सचिव श्रीराम ब्यान्जुले गरेका थिए ।
सो भेलामा एमाले भक्तपुरकी नेतृ कल्पना लुइटेल, जिल्ला कमिटीका उपसचिव एवं सूर्यविनायक नगर कमिटीका संयोजक बासुदेव थापा, प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्ष उपेन्द्र केसी जिल्ला कमिटीका सदस्यहरु दिलिप केसी र रजन केसीले आगामी स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर कुरा राखेका थिए ।
यसैबीच, नगरपालिकाको ७ नम्बर वडा गुन्डुमा किरण कार्कीको अध्यक्षतामा १९ सदस्यीय वडा संगठन कमिटी गठन गरीएको छ ।
प्रतिक्रिया दिनुहोस्