राजनीति

आफन्तबाटै बेचिन्छन् छोरीचेली



काठमाडौँ, २६ पौष । अवरुद्ध घाँटी अनि आँखामा टिलपिल आँसु । नुवाकोटकी २१ वर्षीय रानू मगर (नाम परिवर्तन) लाई पीडा पोख्न गाह्रो भइरहेको थियो । भारतको कोठीमा ६ वर्ष बिताएको त्यो क्षण बयान गर्न उनी ठूलो हिम्मत जुटाउँदै थिइन् । मुखबाट शब्द फुट्न नपाउँदै रानू भक्कानिन्थिन् । अनि घरिघरि भनिरहन्थिन्, ‘मैले जस्तो पीडा कुनै चेलीले भोग्न नपरोस् ।’

आफ्नै काका–काकीले उनलाई भारतको कोठीमा पुर्‍याएका थिए । त्यतिबेला उनी मात्र १५ वर्षकी थिइन् । उमेर सानो भएकाले हर्मोन परिवर्तन गर्ने इन्जिेक्सन लगाएर वयस्क बनाइयो । काठमाडौंमा हुँदा उनी होटलमा भाँडा माझ्ने काम गर्थिन्। चप्पल कारखानामा काम लगाइदिने भन्दै उनलाई भारत पुर्‍याइएको थियो । रानूले भारतका भिन्दाभिन्दै कोठीमा शोषण सहेर बस्नु पर्‍यो । बेचिएपछि रानूले धेरैपटक भाग्ने प्रयास गरिन् । ‘हरेक दिनको कुटाइ र पीडा सहन गाह्रो हुथ्यो’, उनले भनिन् ।

उद्धारका लागि आएका दाजुभाइ, बेचिएका अन्य महिलाले पनि धेरैपटक भाग्न सुझाए । तर भागेर कहाँ जाने ? कसलाई गुहार माग्ने ? रानुलाई केही थाहा थिएन । भाग्न खोज्दा कोठीकै मान्छेले कुट्थे । रानू एक साथीलाई थला पर्ने गरी कुटेको सम्झन्छिन् । निरन्तरको कुटाइले किशोरीहरू मानसिक पीडामा हुन्थे । डर र त्रासमा बाँच्थे । सधैं असह्य पीडा दिन थालेपछि रानूले भाग्ने विचार नै त्यागिन् र कोठीको अँध्यारो कोठालाई नै संसार मान्न थालिन् । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।