रुपन्देही, २६ पौष । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संसारको सामुन्ने शिर नझुकाउने स्वाभिमानी मुलुकका रुपमा देशलाई चिनाउन आवश्यक रहेको बताएका छन ।
आज जितगढी किल्लामा राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा नेपाली सेना मध्यपश्चिम पृतना मुख्यालय बुटवलले आयोजना गरेको राष्ट्रिय एकता दौड प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री पोखरेलले राष्ट्रिय एकता र अखण्डताको रक्षाका लागि सबै जनतालाई एकताबद्ध बनाएर अगाडि बढाउन चाहेको बताए ।
उनले भन, ‘यो खेल र दौडको मात्र कुरा होइन, राष्ट्रिय भावनामा सबैलाई एकताबद्ध बनाउने अवसर हो, “हामी इतिहासको संरक्षण र प्रवद्र्धन गर्न चाहन्छौं ।’
रक्षामन्त्री पोखरेलले वीर नेपाली पुर्खाहरुले जीत हासिल गरेको ऐतिहासिलस्थलमा सेनाको तत्परतामा कार्यक्रम आयोजना गरी पुर्खाको सम्झना र सम्मान गरेको बताउदै उनले भने, ‘यतिबेलाको आवश्यकता कुनै पनि पार्टी, सङ्गठन र अभियानमा लागेका सबै नागरिकहरु म र मेरो भन्ने कुराबाट होइन, हामी र हाम्रो भन्ने चेतनाबाट जागृत हुन आवश्यक छ । तबमात्र हाम्रो मुलुकलाई गौरवशाली मुलुक भनेर सम्झन सक्छौँ ।’
राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा नेपाली सेनाको मध्यपश्चिम पृतना मुख्यालयले आयोजना गरेको भिक्टोरी म्याराथन तथा एकता दौड प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाका हरिकुमार रिमाल र महिलातर्फ सशस्त्र प्रहरी बलकी कान्छीमाया कोजु प्रथम भएका छन ।
रिमालले फुल म्याराथनतर्फ ४२ किलोमिटरको दूरी २ घण्टा ३१ मिनेट २ सेकेण्डमा पार गर्नुभएको थियो भने महिलातर्फ कोजुले २ घण्टा ५६ मिनेट ५१ सेकेण्डमा दौड पूरा गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्