राजनीति

बंगलादेशको पत्रकारीता जस्तै नेपालको पत्रकारीता पनि विकास गरौं : सांसद बस्नेत



भक्तपुर, २ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आम नेपाली सञ्चार माध्यमलाई व्यवस्थित र प्रभावकारी बनाउनु आवश्यक रहेको बताउँदै बंगलादेशको जस्तो पत्रकारीता जस्तै सत्य, तथ्य तथा वास्तविकतामा अडिक, व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

भक्तपुरबाट प्रकाशित हुने समय समाज राष्ट्रिय साप्ताहिक पत्रिकाको १५औं बर्ष प्रवेश कार्यक्रमका बोल्दै सांसद बस्नेतले बंगलादेशको सञ्चार माध्यम कुनै राजनीतिक दल तथा सरकारको आग्रह तथा पूवाग्रहभन्दा माथि उठि एक ढिक्का रुपमा वास्तविकतामा अडिक रहेर एक उदाहरणीय कार्यको रुपमा रहेको उल्लेल गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बंगलादेशका पत्रकार यति शक्तिशाली छन् कि उनिहरुले कुनै मन्त्री तथा सरकारलाई ढाल्न चाहे भने तत्काल ढाल्न सक्छन् । सत्य, तथ्य र वास्तविकतामा कसैले प्रश्न गर्न खडा गर्न सक्दैनन् । त्यसैले नेपालको पत्रकारीतालाई स्थायीत्व तथा प्रभावकारी बनाउन सरकारले नियमन गरी व्यवसायीक बनाउनुपर्छ ।’

मिडिया सरकारको प्रतिपक्षी नभई सरकारको सहयात्री, रचनात्मक, सकारात्मक आलोचनात्मक लगायतको हुनु अपरिहार्य रहेको बताउँदै उहाँले मिडिया जनताको सूचनाको हक पाउने अधिकारको स्थापीत गराउने महत्वपूर्ण माध्यम भएकाले सत्य, तथ्य र वास्तविकता उजागर गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मिडियाको सकारात्मक कुरालाई विकास गरौं, विकृत कुरालाई अन्त्य गराऔं । पत्रकारीता राज्यप्रति आलोचनात्मक सोचमात्र हैन, समाज तथा मुलुक परिवर्तनको पहरेदारको रुपमा स्थापीत हुनुपर्छ ।’

सरकारले ल्याएको विधेयकका सवालमा कुनै एउटा कोणबाट मात्र हेरी नकरात्मक विश्लेषण गर्नु नहुने बताउँदै उहाँले विधेयकामा कुनै समस्या भए संसदीय पद्धतिबाट बुँदा बुँदा सच्याउन सकिने स्पष्ट पार्नुभयो । जनताको भावनालाई सरकारले समेट्न सकेन भने संसदीय पद्धतिबाट समाधान गर्न सकिने प्रावधान हुँदा हुँदै विभिन्न प्रकारले नकरात्मक ढंगले विश्लेषण हुने गरेको गुनासो समेत उहाँले व्यक्त गर्नुभयो ।

सांसद बस्नेतले पछिल्लो समयमा पत्रकारिता क्षेत्र सशक्त र प्रभावकारी बन्दै आइरहेको बताउदै पत्रकारिता पेशाबाटै पत्रकारहरुको सहज जीवनयापन गर्ने अवस्था बनि नसकेको भन्दै पत्रकारितामा सुधार आवश्यक रहेको बताउनुभयो । सांसद बस्नेतले पत्रकारहरु समाज र राष्ट्रप्रति उत्तरदायी र जिम्मेवार रहेकाले पत्रकारहरु व्यवसायीक बन्नुपर्ने र यसका लागि प्रकाशन गृह र सरकारको तर्फबाट पत्रकारहरुलाई व्यवसायीक बनाउने कार्य योजना ल्याउनुपर्ने बताउनुभयो ।

निर्वाचित जनप्रतिनिधिहरुले पत्रकारितालाई व्यवसायिक र मर्यादित बनाउन थप सुधारको खाँचो रहेको औल्याएका छन् । भक्तपुरबाट प्रकाशित हुने समय समाज राष्ट्रिय साप्ताहिक पत्रिकाको १५औं बर्ष प्रवेश कार्यक्रमका सहभागि जननिर्वाचित प्रतिनिधिसभा सांसद, प्रदेशसभा सांसदहरु, जिल्ला समन्वय समिति र स्थानीय तहका जनप्रतिनिधिहरुले पत्रकारितालाई व्यवसायीक, मर्यादित र उत्तरदायि बनाउन सुधारको खाँचो औल्याएका हुन् ।

कार्यक्रममा बागमती प्रदेशका सांसद राजेन्द्रमान श्रेष्ठले आम सञ्चारका बिभिन्न माध्यमहरुबाट आज सहज रुपमा समाचार र जानकारीहरु तत्काल प्राप्त गर्ने अवस्था बिद्यमान हुँदाहुँदै यसको विश्वशनियतामाथि प्रश्न उठ्ने अवस्था सिर्जना हुन थालेकाले विश्वसनिय पत्रकारिताको विकास गर्नु आवश्यक रहेको औल्याउनुभयो ।

सो अवसरमा अर्का बागमती प्रदेश सांसद शशिजंग थापाले पत्रकारिता पेशाप्रतिको आकर्षण बढ्दै गइरहेको तर, प्रकाशन गृह र पत्रकारहरु व्यवसायिक बन्न नसक्दा मर्यादित पत्रकारिता थप प्रभावकारी हुन नसकेको बताउनुभयो । प्रदेश सांसद सरस्वती बाटीले पत्रकारिताले सामाजिक रुपान्तरणमा मात्र नभै एउटा आम मानिसको जीवन रुपान्तरणका लागि समेत भूमिका खेलिरहेका कारण यसको विश्वसनियतामा आँच आउन दिन नहुने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, नेकपा भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अन्जनादेवी मधिकर्मीलगायतले आजको युग सुचना, सञ्चार र प्रविधिको युग भएकाले सञ्चार जगतकै माध्यममार्फत आम नागरिक सुसूचित हुने हुनाले पत्रकारितालाई व्यवसायिक, मर्यादित, जवाफदेही र जनउत्तरदायि बनाउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा समय समाज साप्ताहिकका सम्पादक सोम शर्मा (बजगाईं), अध्यक्ष बालमुकुन्द सुवाल र सञ्चालक राजुराम मुनंकर्मीले पत्रकारिताको व्यवसायिक विकास, मर्यादित, उत्तरदायि र जिम्मेवार पत्रकारिताका लागि समय समाजले भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

क्रियाशिल पत्रकारिता सम्मान राससका रत्नकृष्णलाई

समय समाज राष्ट्रिय साप्ताहिक पत्रिकाले हरेक बर्ष प्रदान गर्दै आइरहेको क्रियाशिल पत्रकारिता सम्मान यस बर्ष राष्ट्रिय समाचार समितिका उपसमाचारदाता एवम् फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठलाई प्रदान गरेको छ । पत्रिकाले आफ्नो १५औं बर्ष प्रवेश कार्यक्रमका अवसरमा फोटो पत्रकार श्रेष्ठलाई पाँच हजार पाँच सय पचपन्न रुपैयाँ नगदसहित दोसल्ला, भाँदगाउले टोपी र सम्मानपत्रद्धारा सम्मान गरेको हो । उहाँलाई प्रतिनिधिसभा सांसद महेश बस्नेत, नेकपाका केन्द्रिय सदस्य एवम् चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्र, समय समाजका अध्यक्ष सुवालले सम्मान गर्नुभएको हो ।

यस्तै पत्रिकाले आफ्नो बार्षिक उत्सवका अवसरमा उत्कृष्ट कर्मचारीका रुपमा पत्रिकाका व्यवस्थापक एवम् पत्रकार नारायण थापालाई नगद, भाँदगाउले टोपी र कदरपत्रद्धारा सम्मान गरेको छ भने पत्रिकाका नियमित लेख स्तम्भकार प्रकाशकुमार कार्कीलाई समेत भाँदगाउँले टोपी र कदरपत्रद्धारा सम्मान गरेको छ ।