राजनीति

एमसीसी देशको हितमा छ, संसदले सहजै अनुमोदन गर्छ : मन्त्री गुरुङ



डोटी, ५ माघ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित हुने बताएका छन् ।

आइतबार डोटी जिल्ला सदरमुकाममा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै मन्त्री गुरुङले एमसीसीबारे बहस हुनु राम्रो भए पनि अहिले देखिएको कतिपय विवाद अनुचित भएको दाबी गरे ।

उनले भने, ‘विषयले संसदमा प्रवेश पाएपछि बहस, छलफल हुन्छ, ‘यो प्रस्ताव संसदले सहजै अनुमोदन गर्छ ।’ नेकपाभित्रैबाट एमसीसीको विरोध भइरहेको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री गुरुङले भने, एमसीसी नेपालको हितमा छ । तैपनि के स्वार्थका कारण उहाँहरू विरोध गरिरहनु भएको छ, गर्नेलाई नै सोध्नुस् ।’

छाउपडी प्रथाको अनुगमनमा निस्केको मन्त्रीको टोली आइतबार नै अछाम प्रस्थान गरेको छ ।